ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि समन्वय भइरहेको छ : प्रमुख शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका छन ।

सोमवार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

भेटका क्रममा प्रतिनिधिहरुले बर्खामा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख शाहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताए ।

काठमाडौंका सडकमा भएको सबै फोहोर उठाउन तपाईँहरुलाई कति समय लाग्छ ? छलफलका क्रममा प्रमुख शाहले प्रश्न गरेका छन । उत्तरमा प्रतिनिधिहरुले पूर्ण क्षमतामा ढुवानी गर्न पाए ३ दिनभित्र फोहोर उठाइसक्ने बताए ।

भेटमा फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान) का महासचिव मीत्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोर बर्गीकरण गर्ने महानगरको योजनालाई प्रशंसा गरेका छन । महानगरको नीति र कार्यक्रमअनुसार हामीले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न प्रतिवद्ध छौँ उनीहरुको भनाइ थियो ।

छलफलका क्रममा फोहोर ढुवानी गर्ने सवारी साधनबाट लिचेड चुहिने समस्या समाधान गर्ने विषय पनि उठेको थियो । हामी प्रतिवद्ध भएर सुधारका काम गछौँ तर केही थप समय लाग्न सक्छ । प्रतिनिधिहरुको भनाइ थियो ।

भेटका क्रममा फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्