जापानमा गर्मीले २३ को मृत्यु, १३ हजार बिरामी



काठमाडौं : अत्यधिक गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना अस्पतालमा भिड लागेका थिए। एक सातामा नै यत्तिको संख्यामा मृत्यु भएको र बिरामी भएको अधिकारीहरुले जनाएका छन्।

अस्पताल गएका मध्ये ४०० जनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ। प्रभावित भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन्। अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९७७ जना बिरामी भएका थिए।

अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ।

जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी छ। सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सीयस पुगेको छ।

प्रतिक्रिया दिनुहोस्