वरिष्ठ साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा  निधन



काठमाडौं: वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज बिहान  निधन भएको छ । निमोनियाका कारण गएको साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उनलाई  हिजो  ‘डिस्चार्च’ गरी निवास कालिकास्थान लगिएको थियो  ।

निवासमा शौचालय जाँदा बेहोस भएपछि  कमलपोखरीमा रहेको हिमाल अस्पताल लगिएको थियो । मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसीत दीक्षितलाई डाक्टरले मृत घोषणा गरेका छन् । दीक्षितको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका  नाति अवनी दीक्षितले बताए ।

मदनमणि दीक्षितका  ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनकाे विशिष्ट योगदान छ । उनकाे जन्म १९७९ फागुन ६ गते काठमाण्डाैको गैरीधारामा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्