जापानमा रोबोटले दिँदैछ बौद्धधर्मको शिक्षा (भिडियो सहित)



एजेन्सी : जापानको एक जेन मन्दिरमा रोबोट पुजारीले बौद्धधर्मको शिक्षा दिने गरेको छ । बौद्धशिक्षामा मानिसको चासो बढाउनका लागि यो कदम चालिएको हो। रोबोटले बौद्धधर्मको मुहार परिवर्तन गर्ने आशा मन्दिरले लिएको छ। तर आलोचकहरूले यो रोबोट फ्रांकेस्टाइनको राक्षस जस्तो भएको बताएका छन्। 

एन्ड्रोइड रोबोटले क्योटोमा रहेको ४०० वर्ष पुरानो कोदाइ–जी जेन मन्दिरमा उपदेश दिन थालेको हो। पवित्र रोबोटले हार्ट सूत्रका पाठहरू जापानी भाषामा वाचन गर्ने गरेको छ । विदेशी पर्यटकका लागि चिनियाँ र अंग्रेजी अनुवाद पनि उपलब्ध गराइएका छन्। 

रोबोटको नाम मिन्दार राखिएको छ र यसलाई जेन मन्दिर र ओसाका विश्वविद्यालयका रोबोटविज्ञ हिरोशी इशिगुरोले बनाएका हुन्। यसलाई बनाउन लगभग १० लाख डलर खर्च गरिएको हो। मिन्दारका हात, अनुहार र काँधहरू सिलिकोन सिन्थेटिक छालाले ढाकिएका छन् भने उसको यान्त्रिक भित्री अंगहरू बाहिरैबाट प्रस्ट देखिन्छन्। 

रोबोटको खप्पर आंशिक रूपमा खुला छ र त्यहाँ तारबार तथा झिलिकझिलिक गर्ने बत्तीहरू देखिन्छन्। त्यसको देब्रे आँखामा सानो भिडियो क्यामरा जडान गरिएको छ । अनि तारहरू उसको आल्युमिनियम शरीरभरि छन्।

रोबोटले हातहरू, टाउको र कम्मर हल्लाउन सक्छ। उसले प्रार्थनका लागि हात जोड्ने गरेको छ। यो शान्त र आनन्ददायक बोलीमा प्रवचन दिन्छ। उसले करुणाका बारेमा सिकाउँछ र क्रोध, काम र अहंकारका खतराका बारेमा सचेत गराउँछ। 

‘तपाईं स्वार्थी अहंकारमा टाँसिएर बस्नुभएको छ,’ रोबोटले भक्तहरूलाई सचेत बनाउँछ। ‘भौतिक इच्छाहरू केही पनि हैनन्, दिमाग समुद्रमा हराएको जस्तो हो।’

प्रतिक्रिया दिनुहोस्