नर्वेमा ब्याट्रीबाट चल्ने विमान तालमा आकस्मिक अवतरण



एजेन्सी – नर्वेमा पहिलोपटक ब्याट्रीबाट चल्ने विमान उडाइएकोमा त्यसलाई एउटा तालमा आकस्मिक अवतरण गराउनुपरेको छ। एभिनोर नामक कम्पनीका हाकिम ड्याग फाल्क–पिटरसनले उक्त विमान चलाएका थिए।

एभिनोरले उड्डयन क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरेको थियो। उसले सन् २०२५ सम्ममा विद्युतीय विमानको व्यापारिक उडान गर्ने आशा गरेको थियो। जम्मा दुईवटा सीट भएको विमान एभिनोरका प्रमुख कार्यकारी फाल्क–पिटरसनले चलाएका थिए।

उनले विद्युतीय विमानका विशेषता देखाउन उच्चस्तरीय यात्रुहरूलाई निम्तो गरेका थिए। आल्फा इलेक्ट्रो जी२ विमानलाई स्लोभेनियाको पिपिस्ट्रेलले बनाएको हो। विमान बुधवार दक्षिणी नर्वेमा रहेको आरेन्दालस्थित एक तालको छेउमा अलिकति डुबेको थियो। 

दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन। प्रहरीका अनुसार, पाइलट र यात्रु दुवै सकुशल छन्। ‘मैले सहायताका लागि कल गरें अनि अवतरण गर्नका लागि ठाउँ खोजें,’ फाल्क–पिटरसनले सरकारी प्रसारक एनआरकेलाई बताए, ‘हामीले गरिरहेको कामका लागि यो शुभ सन्देश हैन।’

उनले राज्यमन्त्री आसे मार्थे होरिग्मोलाई विमानमा राखेका थिए। नर्वे सरकारले एभिनोरलाई सन् २०४० सम्म सबै घरेलु उडानहरू विद्युतीय बनाउनका लागि कार्यक्रम विकसित गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्