भूकम्पको ५ वर्ष : सम्पदाको पुनर्निर्माण ४२ प्रतिशत मात्र 



काठमाडौं :  भूकम्प गएको ५ वर्ष बितिसके पनि पुरातात्विक सम्पदाको पुनर्निर्माण भने अपेक्षाअनुसार भइरहेको छैन। अहिलेसम्म क्षतिग्रस्त सम्पदामध्ये जम्मा ४२ प्रतिशतको मात्र पुनर्निर्माण भएको पुरातत्व विभागले जनाएको छ।

सम्पदा पुनर्निर्माण नहुँदा चौतर्फी गुनासो आइरहेको छ। भूकम्पबाट कुल ८ सय ९१ वटा  पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरूमा क्षति पुगेको थियो। ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका रहेका छन् । विश्वसम्पदामा सूचीकृत काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रमध्ये ७ क्षेत्रका सम्पदामा ०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनाएको थियो।

पछिल्लो समय ३ सय ८८ वटा सम्पदा पुनर्निर्माण भइसकेको छ भने २ सयको पुनर्निर्माण भइरहेको पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले बताए। उनले भने, ‘आर्थिक वर्ष २०७६/०७७ मा थप १५० वटा सम्पदाको पुनर्निर्माण गर्ने योजना रहेको छ।’ 

उनी भन्छन्, ‘पुरातत्व विभागले लिएको लक्ष्यअनुसार पुनर्निर्माणका काम नभएको म स्वीकार गर्छु। हामीले काम रोकेका छैनौं, काम भइरहेको छ’, महानिर्देशक गौतम भन्छन्, ‘पहिलो वर्ष डिजाइन बनाउँदैमा गयो भने दोस्रो वर्ष दाताको छनोट, प्राविधिक र आर्थिक सहयोग जुटाउँदै बित्यो। त्यसपछि भने काम निरन्तर भइरहेको छ।’

उनका अनुसार यी पुरातात्विक र सांस्कृतिक महत्वका सम्पदालाई पुरानै स्वरूपमा बनाउनुपर्ने भएकाले पनि पुनर्निर्माणमा केही ढिलाइ भएको हो। ‘अब प्राचीन सम्पदाका झ्याल, ढोकामा पुरानै स्वरूपका कलाकृति अंकित गर्नुपर्छ। हामीसँग दक्ष जनशक्ति अभाव छ’, उनले भने, ‘कालीगढकै अभाव छ, ठुल्ठूला काठ चाहिन्छ। त्यसको अभाव, खरिद प्रक्रिया लामो र झन्झटिलो छ। यी कारणले गर्दा पुनर्निर्माणमा ढिलाइ भएको हो।’

आगामी ३ वर्षभित्र सबै सम्पदाको पुनर्निर्माण सक्ने लक्ष्य रहेको पुरातत्व विभागले जनाएको छ।

अहिले पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरूमा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौ तले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटको सात तले दरबार लगायत रहेका छन् । 

पुनर्निर्माण सम्पन्न सम्पदाहरूमा हनुमानढोका दरबार क्षेत्रका  गद्दी बैठक, नाट्येश्वरमन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुर्नस्थापना तथा तलेजु मन्दिर छन्। त्यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायणलगायत मन्दिरहरूको पुनर्निर्माण सम्पन्न भएको छ। 

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अनन्तपुर मन्दिर, आनन्दकुटी महाविहारलगायतका सम्पदाहरूको पुनर्निर्माण सकिएको छ।

त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुर्नस्थापना भएको लछ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वीलङको पुनर्निर्माण भएको छ। 

यस्तै थापाथलिस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्ध स्तूपालगायतका पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण भइसकेको छ। 

  

भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण नेपाल सरकारको स्रोतका अतिरिक्त विभिन्न राष्ट्रहरूले पनि सहयोग गरेका छन्। यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्वीजरल्याण्ड, श्रीलङ्का, जापान, लगायत रहेका छन्। यी सम्पदाहरूको  पुनर्निर्माणमा २१ अर्व २६ करोड रुपैयाँ लागिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्