च्याउ टिप्न गएका वृद्धलाई भालुले खाइदियो (भिडियो सहित)



एजेन्सी : रुसमा च्याउ टिप्न गएका एक वृद्धलाई खैरो भालुले खाइदिएको छ। त्यसको केही घन्टाअघि मात्र उनले पत्नीसँग आफूलाई भालुले खान सक्ने भनी मजाक गरेका थिए। अलेक्जेन्डर कोर्नेयेभ नामक ६६ वर्षीय वृद्धले सानो चक्कु लिएर भालुलाई प्रतिकार गर्न खोजेका थिए। तर भालुले उनलाई कर्‍यापझ्याप पारेर मारेको थियो। 

मस्कोभन्दा ५३ सय माइल टाढा रहेको सुलुक गाउँमा घटना भएको हो। कोर्नेयेभलाई भालुले निकै चोटग्रस्त बनाएको थियो। भालुलाई पछि गाउँलेहरूले गोली हानी मारेका थिए। कोर्नेयेभको मासु भालुको पेटमा फेला परेको थियो। 

सेवानिवृत्त रेलवे निर्माण कर्मचारी कोर्नेयेभले आफ्नी पत्नीलाई फोन गरेर भनेका थिए, ‘म च्याउ टिप्न जाँदैछु। मैले तिमीलाई बिहान १० बजेसम्म फोन गरिनँ भने मलाई भालुले खाएको ठान्नू।’ गाउँका अध्यक्ष सर्गे र्‍याबोभले भने, ‘त्यो मजाक थियो तर उनले आफ्ना शब्दबाट खराब शक्तिलाई जगाए।

जताततै रगत थियो। उनको सानो चक्कु दुई टुक्रा भएको थियो। लडाईं भएको जस्तो देखिन्थ्यो। उनको शरीर घोप्टो परेको अवस्थामा थियो। चोट नलागेको कुनै ठाउँ थिएन। भालुले मान्छे खाएछ।’ कोर्नेयेभको भौतिक अवशेष स्थानीय रेलवे कामदारहरूले गाउँनजिकको कच्ची बाटोमा फेला पारेका थिए।

उक्त क्षेत्रमा भालुहरूले मानिसलाई कहिले पनि आक्रमण गरेको थाहा नपाएको भन्दै स्थानीयहरू यो आक्रमणबाट स्तब्ध छन्। हालैका हप्ताहरूमा साइबेरिया र सुदूरपूर्वबाट भालुहरू गाउँ र शहर पस्न थालेका छन्। उक्त क्षेत्रमा बेस्सरी डढेलो लागेपछि भालुहरू त्यहाँबाट भाग्न बाध्य भएका थिए।

उनीहरूका लागि खानेकुराको पनि अभाव भएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। मानिसहरूलाई जंगल नजान अनि च्याउ नटिप्न आग्रह गर्दै संकेतचिह्नहरू राखिएका छन्। 

प्रतिक्रिया दिनुहोस्