मैत्रीपूर्ण भलिबल : अफगानिस्तानमाथि नेपालको लगातार दोस्रो जित



काठमाडौं : अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा समेत नेपाल विजयी भएको छ। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बिहीबार भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो।

यसअघि बुधबार भएको पहिलो खेलमा पनि नेपाल ३–२ ले विजयी भएको थियो। कप्तान ईम राना बिना मैदान उत्रिएको नेपालले अफगानिस्तानमाथि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। पहिलो मैत्रीपूर्ण खेलमा मांसपेशीको चोट बोकेपछि कप्तान ईमले दोस्रो खेल गुमाएका थिए।

तर, धनबहादुर भट्टको कप्तानीमा कोर्ट उत्रिएको नेपालले सुरुवाती दुई सेट गुमाए पनि जित निकाल्न सफल भयो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–१५ ले गुमाएको थियो। तर, नेपालले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो।

नेपालले तेस्रो सेट २६–२४ र चौंथो सेट २६–२४ ले जित्दै खेल २–२ को बराबरीमा ल्याएको थियो। त्यसपछि अन्तिम सेटमा नेपालले १५–१२ को सेटमा जित निकाल्दै अफगानिस्तानलाई निराश  बनाउन सफल भयो।

यो जितसँगै नेपालले अफगानिस्तानविरुद्धको दुई मैत्रीपूर्ण खेलनै आफ्नो पक्षमा बनाएको छ। घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो। 

प्रतिक्रिया दिनुहोस्