भारत-पाकिस्तान भिडन्तदेखि मुस्लिम नेत्रीलाई डाेनल्ड ट्रम्पको धम्कीसम्म



काठमाडौं : अमेरिकी मुस्लिम नेत्रीको इजरायल भ्रमण रोक्न ट्रम्पको चेतावनी

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेयिरकी विधायक इल्हान ओमर र रसिदा तलिबलाई इजरायल भ्रमणमा रोक लगाउन भन्दै चेतावनी दिएका छन् ।

इजरायलले यदी उनीहरुलाई त्यहाँ भ्रमण गर्न अनुमति दियो भने त्यो उसको कमजोरी हुने भन्दै ट्रम्पले इजरायललाई चेतावनी दिएका हुन् । गत साता मात्रै ट्रम्पले ओमरसहित चार मुस्लिम नेतालाई रंगभेदी टिप्पणी गरेका थिए । उनीहरुलाई ‘जहाँबाट आएको त्यहीँ फर्कनू’ भन्दै आलोचना गरेका थिए ।

भारत-पाक भिडन्त : ५ भारतीय सेना, ३ पाकिस्तानी सेना मारिए

कश्मीर : कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा तीनजना पाकिस्तानी सेना र पाँच भारतीय सेना मारिएका छन् । कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पास्तिानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जानकारी दिएका छन् । उनका अनुसार भारतीय सुरक्षाफौजले लिपा उपत्याकास्थित पाकिस्तानी सेनालाई लक्षित गर्दै आक्रमण गरेको थियो । न्युज च्यानल एएनआईका अनुसार भारतीय सेनाले पाकिस्तानी सेनाको अभिव्यक्तिलाई अस्वीकार गरेको छ । भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि नै पाकिस्तानसँग दुश्मनी झन् चर्किँदै गरेको छ ।

रुसको सुझाव : कश्मीर विवाद आपसी सहमतिबाटै मिलाउनू

इस्लामाबाद : रुसले पाकिस्तानलाई भारतसँग आपसी सहमतिमै कश्मीर विवाद सल्टाउन सुझाव दिएका छन् । पाकिस्तानी विदेशमन्त्री साह महम्मुद कुरैसीले उनका रुसी समकक्षी सर्जे लार्वोबलाई टोलिफोन गर्दा सर्जेले यस्तो सन्देश दिएका हुन् । रुसको विदेश मन्त्रालयले यसबारे विज्ञप्ति समेत जारी गरेको छ । विज्ञप्तिमा पाकिस्तान र भारतबीच राजनीतिक तथा कुटनीतिक माध्यमबाटै सहमति गर्न सुझाव दिइएको हो । रुस सुरक्षा परिषद्को स्थायी सदस्य हो ।

बिदा मनाउन दक्षिण अफ्रिका जाने चार देशका नागरिकलाई फ्रि भिसा

केपटाउन ः दक्षिण अफ्रिकाकाले पर्यटन प्रवर्धन गर्न चार मुलुकका नागरिकका लागि भिसा छुट दिएको छ । बिहीबार यहाँको सरकारले आर्थिक संकट र पर्यटक घटिरहँदा पर्यटक बढाउन यस्तो घोषणा गरेको हो । बिदा मनाउन दक्षिण अफ्रिका जाने कतार, साउदी अबर, यूएई र न्युजिल्याण्डका नागरिकले भिसा लिनु पर्दैन । गृहमन्त्री डा. आरोन मोत्साओलेदीका अनुसार अप्रिल र मे महिनामा विदेशी पर्यटकको क्रम १० प्रतिशत भन्दा धेरैले घटेको छ ।

अमेरिकी प्रशासनलाई गुगलका कर्मचारीले दिए खुला चेतावनी

वासिङ्टन : गुगलका ३ सय ५० भन्दा धेरै कर्मचारीले अमेरिकी सीमाक्षेत्रमा कार्यरत निकायसँग काम नगर्ने चेतावनी दिएका छन् । उनीहरुले हालै कम्पनीलाई खुला पत्र लेखेर अमेरिकाको दक्षिणी सीमा क्षेत्रमा रहेका भन्सार, सुरक्षा लगायत एजेन्सीसँग काम नगर्ने अडान लिएका हुन् ।

गुगलका ३ सय ६५ कर्मचारी र ३५ जना सहयोगीले बुधबार यसरी कम्पनीलाई नै खुला पत्र लेखेका थिए । उनीहरुले अध्यागमन, भन्सार, शरणार्थी पुनस्र्थापना कार्यालयले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै काम नगर्ने बताएका हुन् । सीमा क्षेत्रस्थित ती कार्यालयले मानवअधिकार उल्लंघन नरोकेसम्म आफूहरुले प्राविधिक सहायता नगर्ने उनीहरुको अडान छ ।

२३३ यात्रु बोकेको जहाज मकैबारीमा आपतकालिन अवतरण

मस्काे : २३३ जना यात्रु बोकेको एउटा रुसी जहाज मस्को नजिकै आपतकालिन अवतरण गराइएको छ । चराहरुको हूल जहाजको इन्जिनमै ठोक्किँदा दुबै इन्जिन बन्द भएपछि आपतकालिन अवतरण गराउनु परेको बताइएको छ ।

उरल एयरलाइन्सको ए ३२१ एयरबस २ सय २६ यात्रु र सातजना चालकदलका सदस्यसहित मस्कोको जुकोब्सकी एयरपोर्टबाट सिम्फेरोपोल एयरपोर्टका लागि उँडेको थियो । ‘चराका कारण दुबै इन्जिन बन्द भए । यसैले गर्दा रनवेबाट एक किलोमिटर टाढा नै अवतरण गराउनुपरेको हो,’ एयरलाईन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी आपतकालिन रुपमा मकैको खेती गरिएको जमिनमा नै जहाज अवतरण गराइएको हो । इन्जिन अफ भएपछि तत्कालै मकै खेती भएको खुला जमिनमै अवतरण गराइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नौ बालबालिका सहित २३ जना घाइते भएका छन् । स्थानीय मिडियाले यस्तो अवतरणलाई ‘चमत्कारिक रुपमा गराइएको अवतरण’ भनेका छन् ।

इरानी तेल ट्यांकर नछोड्न अमेरिकाको आग्रह

वासिङ्टन : इरानी तेल ट्याङकरलाई रिहा नगर्न अमेरिकाले आग्रह गरेको छ । बेलायतले कब्जामा लिएको इरानी ‘ग्रेस १’ ट्यांकरलाई अमेरिकी कानुन मन्त्रालयले आग्रह गरेको हो । जिब्राल्टरमा बेलायतले इरानी तेल ट्यांकर केही सातादेखि ४३ दिनदेखि रोकिराखेको छ । दुई दिनअघि मात्रै इरानले आफ्नो ट्यांकर बेलायतले ‘छिट्टै छोड्नसक्ने’ जनाएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्