भारत–पाकिस्तान विवाद : नियन्त्रण रेखामा गोली हानाहान, पाँच भारतीय र तीन पाकिस्तानी सैनिक मारिए



इस्लामाबाद  :  काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ । नियन्त्रण रेखामा भएको गोली हानाहानमा तीन पाकिस्तानी सैनिक शहीद भएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले बताएका छन् । भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको गाफुरको ट्वीटमा उल्लेख गरिएको छ ।

ट्वीटमा केही भारतीय सैनिक घाइते भएको उल्लेख गरिए पनि संख्याबारे केही बताइएको छैन ।

उनले लेखेका छन्, ‘सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान भएको छ ।’ उनले भारत प्रशासित काश्मीरबाट भारतीय सेनाले नियन्त्रण रेखामा गोली चलाएको उल्लेख गरेका छन् । ५ अगस्टमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा अन्त्य गर्ने निर्णय गरे पनि सो क्षेत्रमा तनाव चुलिएको छ । काश्मीरमा सञ्चारमाध्यम बन्द छन् भने बजार पसलसमेत खुल्न सकेका छैनन् ।

धारा ३७० खारेज गरेकामा रुष्ट पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सीमित पार्दै व्यापारसमेत रोक्ने निर्णय गरेको छ । पछिल्लो गोली हानाहानको घटनाबारे भारतीय पक्ष भने मौन देखिएको छ । राजधानी दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्