कर्णाली प्रदेशका भौतिक मन्त्री खड्कबहादुर खत्री पदमुक्त



काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । 

बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीलाई पक्राउ पुर्जी जारी गरेपछि बिहीबार मन्त्री खत्री पदमुक्त भएका हुन् ।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । 

रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्नु हुने बुढाथोकीले जानकारी दिए ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । 

मन्त्री खत्रीसहित पाँचजनाले कृषि विकास बैंक भोजपुरको १ करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र तयार गरी जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेका अदालतले ठहर गरेको छ ।  

 

प्रतिक्रिया दिनुहोस्