धुकचुकमा बाम गठबन्धन, त्रासमा कांग्रेस



काठमाडौं । आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा बाम गठबन्धन भए नेपाली कांग्रेसले ५ सिट जित्न सक्ने प्रक्षेपण नेता डा. मीनेन्द्र रिजालको छ। उनका अनुसार बाम गठबन्धनले भने १५१ सिट जित्न सक्छ। कूल संसदीय सिट भने १६५ छ।

बौद्धिक नेता रिजालको आकलनले निर्वाचनमा बाम गठबन्धन भए पार्टीको आकार अझ खुम्चिने मात्र नभई संसद्मा कांग्रेसको उपस्थिति निकै न्यून हुन सक्ने देखाएको छ। जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

बाम गठबन्धन भए कांग्रेसलाई निर्वाचनमा मुस्किल पर्ने उनीहरूको ठहर छ। २०७४ सालमा भएको निर्वाचनमा ठूला बामपन्थी दलहरू नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको थियो। १६५ मध्ये ११६ सिट जित्दै प्रत्यक्षतर्फ स्पष्ट बहुमत प्राप्त गर्दा कांग्रेस २३ सिटमा खुम्चियो।

कांग्रेसको आन्तरिक प्रतिपक्षी नेता डा. शेखर कोइराला खेमाका एक जना नेता अर्जुननरसिंह केसीले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने स्पष्ट मत अघि सारेका छन् । तर, त्यसअघि गठबन्धनको औचित्य र कांग्रेसको निर्णायक हैसियत कायम राख्न पार्टीभित्र बृहत् ऐक्यबद्धताको उत्साही वातावरण बनाउनु जरुरी छ।

केन्द्रीय समिति बैठकमा वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने कोणबाट नेताहरूको धारणा सार्वजनिक भइरहँदा भने बाम गठबन्धनको आधार निर्माण हुँदै गएको चर्चा हुन थालेको छ। हुन पनि भिन्न–भिन्न पार्टीमा विभक्त बामपन्थी नेताहरू निर्वाचनमा मात्र नभई बाम ध्रुवीकरणको पक्षमा उभिँदै गएका छन्।

एकले अर्का नेताको चर्को आलोचना गर्ने बामपन्थी नेताहरू क्रमशः नरम अभिव्यक्ति दिन थालेका छन् । शुक्रबार बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एमालेप्रति ‘मित्रवत्’ रूपले प्रस्तुत भए ।

नेपाल ती नेता हुन्, जसले यसअघि हरेक पटक सभा-सम्मेलन वा बैठकलाई बोल्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सर्वाधिक तुच्छ अभिव्यक्ति दिने गर्दथे । कडा आलोचक देखिन्थे । तर, शुक्रबार उनले भने, ‘अहिले धेरै किन भन्नु हुँदैन भने एमाले अहिले हामीलाई धेरै प्रहार गरिरहेका छैनन् । धेरै प्रहार नगरिरहेको बेलामा हामीले पनि प्रहार गर्नुहुँदैन।’

छिमेकी देश चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को विदेश विभाग प्रमुख लिउ जिआनचाओको ४ दिने नेपाल भ्रमणपछि नेपाल ओलीप्रति अस्वाभाविक रूपमा नरम भए। उनले कांग्रेसको विरोध गर्न थालेका छन्।

स्थानीय निर्वाचनमा कांग्रेसबाट सर्वाधिक धोका पाएको नेपालले पटकपटक दोहोर्‍याउने गरेका छन् । यद्यपि, वर्तमान गठबन्धनलाई भने निरन्तरता दिनुपर्ने बताउने गरेका छन्।

उनका दलका सम्मानित नेता झलनाथ खनाल भने स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम आएदेखि नै बामपन्थी शक्तिहरूबीच एकताको पक्षमा उभिँदै आएका छन् । नेपाल र खनाल मात्र होइनन्, अर्का बामपन्थी नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाम गठबन्धन मात्र नभई एकताप्रति निकै सकारात्मक देखिएका छन् ।

उनले त बामपन्थी दलहरूबीच एकताका लागि प्रस्तावक नै बन्न सक्ने बताउने गरेका छन् । ‘अझै पनि वैज्ञानिक सोच राख्ने इमानदार कम्युनिस्टहरू त एक ठाउँमा हुनैपर्छ । त्यो मिसनचाहिँ हाम्रो हो । र, त्यसको म हिजो प्रस्तावक थिएँ । भोलि पनि म प्रस्तावक हुन्छु भन्ने लाग्या छ’, प्रचण्डले बिहीबार ललितपुरको कुपण्डोलमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहसमा भने।

सीसीपीका विदेश विभाग प्रमुख लिउले प्रचण्डसँग भने भेट गरेका थिए। प्रचण्डका सचिवालयले दिएको जानकारी अनुसार लिउले नेपालमा बाम ध्रुवीकरणको पक्षमा सीसीपी रहेको बताएका थिए। एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राईले भने आफूहरूसँगको भेटमा पनि लिउले नेपालको दिगो विकास र समृद्धिका लागि नेपाली बामपन्थी शक्तिहरू एक ठाउँमा आउनुपर्ने सुझाएको बताएकी छिन्।

‘नेपालमा बामपन्थी शक्तिहरू छिन्नभिन्न हुनुहुँदैन। एक हुँदा राम्रो। त्यसो हुँदा देशको विकास हुन्छ। देश समृद्धितर्फ जान्छ’, उपाध्यक्ष राईले लिउसँगको भेटपछि द नेपालटपलाई बताइन्। एमाले र माओवादी मिलेर बनेको नेकपामा २०७७ सालको भदौतिर ओली र प्रचण्ड–माधवबीच मतभेद चर्किएर पार्टी फुट नजिक पुगेको बेला पनि चीनको अस्वाभाविक चासो देखिएको थियो।

चिनियाँ राजदूत होउ यान्छीले मतभेद व्यवस्थापन गर्ने प्रयास गरेकी थिइन् । उनलाई त्यसबेला ‘ओली–प्रचण्ड’ जोड्ने ‘सुपरग्लू’को रूपमा चित्रित गरिएको थियो। यस्तो राजनीतिक पृष्ठभूमिबीच लिउको भएको नेपाल भ्रमणले नेपाली बामपन्थीहरू एक ठाउँमा आउने सम्भावना बढ्दै गएको रूपमा विश्लेषण हुँदै गएको छ।

प्रचण्ड भारत भ्रमणलगत्तै चीन जाने भएका छन् । उनले शुक्रबार त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै चीनमा जाने जानकारी दिएका हुन्। देशकै ठूलो बामपन्थी शक्ति एमालेका अध्यक्ष ओलीको झुकाव पनि बाम एकतातर्फ देखिन थालेको छ। गत वर्ष पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमै स्पष्ट उल्लेख गरेका छन्, ‘बाम ध्रुवीकरणको पक्षमा एमाले हुनेछ।’

उनले बामपन्थीहरूबीच परिपक्व ढङ्गले एकतामा जोड दिने गरेका छन्। २७ असारमा काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रियाको क्रममा ओलीले भने, ‘एक पटक बिहे हुन्छ । त्यसपछि डिभोर्स हुन्छ। अनि, फेरि बिहे हुन्छ। फेरि डिभोर्स हुन्छ। डिभोर्स साँचो हुन्छ । बिहेचाहिँ नक्कली हुन्छ।’

उनले एकता तत्काल विभाजन हुनेगरी नगरिने बताएका हुन्। उनी पनि स्थानीय तह निर्वाचनमा कांग्रेस नेतृत्वमा भएको ५ दलीय गठबन्धनबीचको तालमेलपछि प्राप्त परिणामले झस्किएका छन्।

प्रतिक्रिया दिनुहोस्