
भक्तपुर । भक्तपुर दरबार क्षेत्रमा रहेको जिल्ला अदालत भक्तपुर नगरपालिका–९ स्थित नवनिर्मित आधुनिक भवनमा सर्ने भएको छ। भवन निर्माण सम्पन्न हुनासाथै दरबार क्षेत्रबाट सर्ने लागेको हो।
ब्रम्हायणीको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र निर्माण भइरहेको जिल्ला अदालत भवन निर्माण ८० प्रतिशत सकिएको छ। जिल्ला अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी विमल पराजुलीले भवन निर्माण ७५ देखि ८० प्रतिशत सएिको कन्ट्याक्टरले जानकारी दिएको जनाए। उनले छिट्टै अर्थात् चार पाँंच महिनाभित्र नयाँ भवनमा सर्ने योजना रहेको जनाए।
४ वटा लिफ्टसहित यो भवन सात तल्ला हुनेछ। अन्डरग्राउन्डको दुई तलामा पार्किङ, पहिलो तलामा सेवाग्राहीको लागि ५० कार र ८० वटा मोटरसाइकल तथा दोस्रो तलामा न्यायाधीश तथा कर्मचारीहरुको लागि १५ वटा कार र २४ वटा मोटरसाइकल पार्किङ गर्न सकिने गरी निर्माण गरिएको छ।
भवनमा कूल दुई सय ४२ वटा कोठा हुनेछन्। त्यसमा १४ वटा इजलास हुनेछन् भने ७० जना क्षमताको तालिम कक्ष र दुई सय ५० जना क्षमताका हलसमेत हुनेछ। अदालतले भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि करिब ११ रोपनी क्षेत्रफलको २ कित्ता जग्गा खरिद गरेको थियो।
भवन निर्माण ठेक्का केसी–शर्मा–समानान्तर जेभीमार्फत् भइरहेको छ। भवन एक अर्ब ३६ करोड ६७ लाख ९० हजार ४ सय ८२ रुपैयाँ बजेटमा निर्माण भइरहेको छ। भवनको शिलान्यास २०७७ माघमा भएको थियो।