भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुनः शास्त्री नियुक्त



काठमाडौं : भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पुनः रवि शास्त्री नियक्त भएका छन्। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शास्त्रीलाई पुनः प्रशिक्षक नियुक्त गरेको जनाएको छ।

शास्त्री यसअघि सन् २०१७ देखि भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए। इङ्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी विश्वकपपछि कार्यकाल सकिने भए पनि जारी वेस्ट इन्डिजविरुद्धको सिरिजका कारण उनको कार्यकाल ४५ दिन थप गरिएको थियो।

त्यसपछि नयाँ प्रशिक्षकका लागि आवेदन खुला गरिएकोमा शास्त्रीसहित ६ जनाको नाम छनोट समितिले शर्ट लिस्ट गरेको थियो। ६ जनामध्ये वेस्ट इन्डिजका फिल सिमन्सले नाम फिर्ता लिएपछि मुम्बईमा शुक्रबार ५ जनाको अन्तर्वार्ता लिइएको हो।

जसमा शास्त्रीको अन्तर्वार्ता भने भारतीय टिमसँग वेस्ट इन्डिजमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत लिइएको थियो। रेसमा रहेका पाँच जना प्रशिक्षकका उम्मेदवारमा रवि शास्त्री सबैभन्दा अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए।

शास्त्रीको कार्यकाल २०२१ मा भारतमा हुने टी–२० विश्वकपसम्म रहने छ। वेस्ट इन्डिज जानुपूर्व पनि कप्तान कोहलीले पत्रकार सम्मेलनमा रवि शास्त्रीसँग टिमको तालमेल राम्रो रहेको प्रतिक्रिया दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्