कांग्रेस बैठक : हिलो छ्यापाछ्यापमा प्रतिस्पर्धा



काठमाडौं । सत्ता नेतृत्व दल नेपाली कांग्रेसका नेताहरूले एकअर्काप्रति ‘हिलो छ्यापाछ्याप’ गरेका छन् । स्थानीय तह निर्वाचनको समीक्षा मुख्य एजेन्डा भएको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा खेमाका केन्द्रीय सदस्य र पदाधिकारीहरूले नेता डा. शेखर कोइराला खेमाको चर्को आलोचना गरे।

उनीहरूले डा. शेखर खेमाले सहमति र एकताको कुरा गर्नु नसुहाउने भने। यसो भन्नेमध्येका एक नेता हुन्– सहमहामन्त्री भीष्मराज आङ्देम्बे। ‘निर्वाचनका बेला आफ्नै जिल्लामा सबैलाई मिलाएर परिणाम दिन नसक्नेले सहमति र एकताको कुरा नमिल्दो हो’, केन्द्रीय समिति बैठकमा देउवा निकट आङ्देम्बेले भने।

उनले देउवा र उनी नेतृत्वको सरकारको प्रतिरक्षा मात्र गरेनन्, गठबन्धनको औचित्य अझै रहेको भन्दै गठबन्धनलाई निरन्तरता दिन जोड दिए। ‘नेपालले विश्व राजनीतिक मञ्चमा गुमाएको विश्वास र भरोसालाई यो सरकारले पुनर्जीवन दिएको छ। सरकार असफल होइन, सफल हुँदै गएको छ’, उनले गठबन्धनमा जोड दिँदै भने, ‘गठबन्धनलाई थप मजबुत बनाउन संस्थागत रूपमै केन्द्रीय समितिबाटै गठबन्धनको निर्णय गर्नुपर्छ।’

देउवाको प्रतिरक्षा गर्नेमा देखिइन् अर्की सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि। उनले सरकारले राम्रो काम गरेको र पार्टीका सबै नेता, कार्यकर्ताले जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिएकी छन्। ‘सरकारले लोकप्रिय काम गरेको छ। आगामी दिनमा अझै बढी जनताले रुचाउने कार्यक्रमहरू सरकारले सञ्चालन गर्नुपर्छ। र, राम्रा कामहरू जनता समक्ष पु¥याउनुपर्छ’, बैठकमा व्यक्त धारणा उद्धृत गर्दै द नेपालटपलाई उपाध्यायले भनिन् ।

उनले आगामी सङ्घीय र प्रदेश निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर गठबन्धन गर्दा तालमेलको क्रममा महिला उम्मेदवारको सङ्ख्या स्थानीय तहमा जसरी घटाउन नहुने बताइन् । देउवा र उनी नेतृत्वको सरकारको प्रतिरक्षा गर्ने यी २ सहमहामन्त्री मात्र होइनन्, उपसभापति पूर्णबहादुदर खड्का, सहमहामन्त्रीहरू किशोरसिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, प्रवक्ता डा. प्रकाशरण महत, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, सीता परियारलगायत छन् ।

उनीहरूले डा. कोइराला गुटको बैठक होटलतिर राखेको भन्दै चर्को आलोचना पनि गरे । बैठकमा डा. कोइराला खेमाका पदाधिकारी र केन्द्रीय सदस्यहरू देउवा र उनका कार्यशैलीप्रति आलोचक बने । उनीहरूले देउवा सरकारको बचाउ गर्न नसकिनेसम्मको जबाफ दिएका छन् । ‘सभापतिलाई बलियो बनाउन भनेर पाखुरामा तेल लगाउन तेल बोकेर जान सकिँदैन’, डा. कोइराला निकट उपसभापति धनराज गुरुङले भने, ‘बलियो बनाउने विचारले हो । विचार बलियो बनाउन भनेर लागिरहेका छौँ ।’
सभापति शेरबहादुर देउवाबाट अधिकारविहीन जस्तै बनाइएका उपसभापतिमा गुरुङ पर्छन् । देउवाले आफू निकटका उपसभापति पूर्णबहादुर खड्कालाई महŒवपूर्ण जिम्मेवारी लगातार दिइरहेका छन् ।
स्थानीय तह निर्वाचनमा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बनाएका देउवाले हालै पार्टी मातहतको महŒवपूर्ण विभाग नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख खड्कालाई नै बनाएका छन् । देउवा विदेश भ्रमणमा गएको अवस्थामा कार्यबाहक सभापतिको जिम्मेवारी पनि उनैलाई दिने गरेका छन् ।
यस्ता महत्वपूर्ण जिम्मेवारीहरूबाट बञ्चित रहँदा गुरुङले देउवाप्रति असन्तुष्टि जनाउँदै बलियो बनाउन तेल बोकेर जान नसकिने अभिव्यक्ति दिएका हुन् ।
महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि देउवा र उनको कार्यशैलीसँगै सरकारको कडा शब्दमा आलोचना गरेका छन् । पार्टीलाई विधि र विधानअनुसार चलाउन देउवा चुकेका उनीहरूको आरोप छ।

उनीहरूका अनुसार देउवा सरकारको बचाउ गर्न सकिने अवस्था अहिले छैन। ‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौँ। आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ। हिजो ओली सरकारको तीब्र आलोचना गर्‍यौँ’, महामन्त्री थापाले भने, ‘आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौँ।’

बैठकमा महामन्त्री थापाले संवैधानिक परिषद् विधेयक फिर्ता लिन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउन, पार्टीलाई विधानअनुसार चलाउन र अर्थतन्त्रको विषयमा गम्भीर बन्न देउवाको ध्यानाकर्षण पनि गरे। महामन्त्री थापा डा. कोइराला खेमाका हुन्। अर्का महामन्त्री शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरेको र त्यसलाई ‘करेक्सन’ गर्न देउवा असफल भएका टिप्पणी गरे ।

उनले सुशासन कायम गर्न तथा सङ्घ र प्रदेश सरकारबीच पर्याप्त समन्वयन गर्न पनि देउवा चुकेका बताए। बिहीबार देउवा निकट केन्द्रीय सदस्यहरूले महामन्त्रीहरू थापा र शर्माले लोकप्रिय बन्न पार्टी नेतृत्वको खण्डन गरेको, सञ्चार माध्यममा समाचार बन्न प्रयास गरेको र सभापति देउवालाई असहयोग गरेको आरोप लगाएका थिए।

शनिबार भने महामन्त्रीद्वय थापा र शर्माले आफूहरूविरुद्ध लागेको आरोपको खण्डन गर्दै सभापति देउवा नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको प्रष्ट पारे।

मलाई नखेद्नू : देउवा 
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका प्रतिपक्षी नेता डा. शेखर कोइरालालाई साथै लिएर जान चाहेको बताएका छन् । तर, आफूलाई नखेद्न सभापति देउवाको डा. कोइराला खेमालाई आग्रह छ । उनले बैठक पनि होटलमा नगरी पार्टी केन्द्रीय कार्यालयमै गर्न सुझाए।

‘बैठक बस्नै परे केन्द्रीय कार्यालयमा गर्नुहोस् तर मलाई खेद्ने काम नगर्नुहोस् । पार्टी बलियो बनाएर लैजान्छु’, बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मलाई पनि कुनै समय अप्रिय व्यवहार भएको थियो । त्यस्तो अप्रिय व्यवहार अहिले मबाट कसैलाई हुँदैन।’

उनले नेपाल विद्यार्थी सङ्घ, तरुण दललगायत ४ वटा सङ्गठनलाई कोइरालासँग परामर्श गरेरै पूर्णता दिएको जिकिर पनि गरे। फरक प्रसङ्गमा उनले आगामी सङ्घीय र प्रदेश निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग तालमेल गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्