मेस्सी बिना बार्सिलोना पहिलो खेलमै पराजित



काठमाडौं : साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा नै पराजित बनेको छ । आरिट्ज अडुरिजको एक मात्र गोल निर्णायक बन्दा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित बनेको हो ।

निराशजनक खेल प्रदर्शन गरेको बार्सिलोनाबिरुद्ध अडुरिजले खेलको ८९ औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका उनले गोल गर्दै टोलीलाई जित दिलाए ।

नयाँ अनुबन्ध गरिएका एन्टोनी ग्रिजमानलाई मैदानमा उतारे पनि पाहुना टोलीले राम्रो प्रदर्शन गर्न सकेन । उता, लुइस सुवारेज र राफिनाको प्रहार पोष्टमा लागेको थियो । त्यसपछि सुवारेज घाइते हुँदै मैदान छाड्न पनि बाध्य बनेका थिए ।

खेलमा घाइते बनेका लियोनल मेस्सी अनुपस्थित थिए भने बायर्न म्युनिख जाने हल्लाकाबीच फिलिपे काउन्टिन्हो पनि खेलमा सहभागी भएनन् ।

लगातार तेस्रो ला लिगा उपाधि जित्ने दाउमा रहेका अर्नेस्टो भालभेर्डेले युवा खेलाडी फ्रेंकी डि योङलाई पनि मैदान उतारे पनि बार्सिलोनाले खेलमा लय पक्रन सकेन । उसको केवल दुईवटा प्रहारमात्र लक्ष्यमा पुगेको थियो ।

यस जितसँगै एथ्लेटिकले अंकतालिकामा शीर्ष स्थान बनाएको छ भने बार्सिलोनालाई पुछारमा धकेलिदिएको छ । साबिकको विजेता टोलीलाई हराएको एथ्लेटिकोले ३ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्