नेपाल प्रहरीमा एक एआईजी नियुक्त



काठमाडौं : सरकारले नेपाल प्रहरीमा एक जना एआईजी नियुक्त गरेको छ ।

 

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले नेपाल प्रहरी अस्पतालकी प्रमुख डाक्टर दुर्गा थापालाई प्राविधिकतर्फको एआईजी नियुक्त गरेको हो । गृह मन्त्रालयले उनलाई असोज २४ गते एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

 

नेपाल प्रहरीमा १६ जनासम्म एआईजी भएको इतिहास छ । गत जेठमा सरकारले प्रहरीमा अप्राविधिकतर्फ तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको थियो ।

 

सोहीअनुरूप गृह मन्त्रालयले भदौ २६ गते पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई एआईजीका लागि सिफारिस गरेको थियो । तीनै जना एआईजीले गत असोज ७ गते दज्र्यानी चिह्न लगाएका थिए ।  

प्रतिक्रिया दिनुहोस्