३ महिनामा चट्याङ लागेर ५२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो तीन महिनामा चट्याङ लागेर देशभर ५२ जनाको मृत्यु भएको छ। २०७९ वैशाख १ देखि असार ३२ गतेसम्म तीन महिनाको अवधिमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार सो अवधिमा देशभर १४८ वटा चट्याङका घटनामा परी १२३ जना घाइते भएका छन्। चट्याङबाट २०९ परिवार प्रभावित भएको छ । चट्याङले १० घरमा आंशिक र ४ घरमा पूर्ण क्षति गरेको छ।

चट्याङ लागेर ४२४ वटा चौपाया मरेका छन् । पछिल्लो तीन महिनामा चट्याङले २५ लाख ४२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार चट्याङ लागेर ३३ जिल्लामा यो अवधिमा मानिसको मृत्यु भएको छ। केन्द्रको तथ्याङक अनुसार चट्याङ लागेर सबैभन्दा बढी बागलुङ, मकवानपुर र प्युठानमा मृत्यु भएको छ।

बागलुङमा ५, मकवानपुरमा ३ र प्युठानमा ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ। गत वर्ष (२०७८ साल) चट्याङ लागेर देशभर ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका थिए। गत वर्ष चट्याङका घटनाले २ करोड १५ लाख ८१ हजार ८३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्