गुरुयोजना बनाएर मन्दिर र मण्डप सौन्दर्यीकरण गरिन्छ : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरमा भइरहेको सौन्दर्यीकरणको अनुगमन गरेका छन्।

शनिबार बिहान जानकी मन्दिर पुगेका राउतले सौन्दर्यीकरणको कार्यबारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दास वैष्णवसँग जानकारी दिएका छन्। प्रदेश सरकारको आठ करोडको लगानीमा जारी सौन्दर्यीकरणको कार्य प्रगति हेर्न राउतसँगै मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा पनि जानकी मन्दिर पुगेका थिए।

मुख्यमन्त्री राउतले मन्दिरको थप सौन्दर्यीकरणका लागि विवाह मण्डपलाई रामायणकालिन प्राचिन शैलीमा पुनर्निर्माण तथा जानकी मन्दिर विवाहमण्डप, अरगज्जा सर, तेलहा मरहासहितको गुरु योजना निर्माण गरि एकद्वार प्रणालीमार्फत काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको मन्दिर श्रोतले जानकारी दिएको छ।

महन्थसँगको भेटघाटका क्रममा यस आर्थिक वर्षमा पनि १०  करोड बढि रकम जानकी मन्दिर सौन्दर्यीकरणमा प्रदेश सरकारले लगानी गर्ने योजना बनाएको राउतलाई उद्धृत गर्दै महन्थ दाशले ‘द नेपालटप’लाई जानकारी दिए।

छोटे महन्थले ‘द नेपालटपसँग कुरा गर्दै भने, ‘९ बजे मन्दिर पुग्नु भएको मुख्यमन्त्री ज्यूँ सहितको टोलीले एउटा गुरुयोजना बनाएर मन्दिर र विवाहमण्डपलाई भविष्यमा सौन्दर्यीकरण गरी मूर्त रूप दिने भन्नुभयो।’

भारतीय र नेपालका आर्किटेक सम्मिलित एक समूह बनाएर पुरातत्व विभाग र प्रदेश सरकार स्वयंको संलग्नतामा जानकी मन्दिरलाई अझ सुन्दर बनाउने योजना सहित कार्य अगाडि बढाउने संवाद समेत भएको दाशले स्पस्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्