ज्यान बाजीमा राखेर बाढीमा फसेको एम्बुलेन्सलाई बाटो देखाए यी बालकले (भिडियो सहित)



एजेन्सी : भारतको कर्नाटकमा बाढीग्रस्त क्षेत्रमा १२ वर्षीय एक बालकले बहादुरीको नमूना प्रस्तुत गरेका छन्। ज्यान समेत बाजीमा राखेर हीरेरायनकुम्पी गाउँका बालकले एम्बुलेन्सलाई बाटो देखाए। एम्बुलेन्समा ६ बालबालिका र एक मृत महिलाको शव पनि थियो। बालकको नाम वेंकटेश हो र उसको बहादुरीलाई प्रशासनले पुरस्कृत गरेको छ। 

बाढीका कारण डुबेको पुलमाथि गुडिरहेको एम्बुलेन्सलाई वेंकटेशले बाटो देखाएका थिए। एम्बुलेन्स चालकले वेंकटेशबाट पानीको बहावका बारेमा जानकारी लिन खोजेका थिए। वेंकटेशले पानीको तीव्र बहावमा एम्बुलेन्स अगाडि दौडिने साहसिक निर्णय लिए। यसले गर्दा एम्बुलेन्स चालकले पानीको गहिराइको अन्दाज लगाए र एम्बुलेन्स सजिलै पुलपारि पुग्यो। 

वेंकटेशले चालकलाई सहायता गर्ने प्रस्ताव राख्दा पुलमा खेलिरहेका उसका साथीहरूले पानीको बहावका विषयमा सचेत गराएका थिए। तर उसले त्यसलाई वास्ता गरेन। आफूलाई पुलको बारेमा थाहा भएको भन्दै वेंकटेशले एम्बुलेन्स चालकलाई बाटो देखायो। सामाजिक सञ्जालमा वेंकटेशको खुबै प्रशंसा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्