नयाँ नीतिविहीन कांग्रेस



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस नयाँ सैद्धान्तिक र राजनीतिक कार्यक्रमविहीन छ । नीति महाधिवेशन नहुँदा कांग्रेस यस्तो अवस्थामा पुगेको हो । गत वर्षको मङ्सिरमा १४औँ नेतृत्व चयनका लागि महाधिवेशन हुँदै गर्दा ६ महिनापछि नीति महाधिवेशन हुने भनिएको थियो।

महाधिवेशन सम्पन्न भएको ८ महिना हुन लागेको छ। तर, नीति महाधिवेशन हुने छाँटकाट भने छैन। अर्थात्, सभापति शेरबहादुर देउवाको यसतर्फ चासो देखिएको छैन। फेरि, आगामी मङ्सिरमा सङ्घीय र प्रदेश संसद्को निर्वाचन हुने सम्भावना छ। निर्वाचन हुने भए कांग्रेसको घोषणापत्रमा नीति तथा कार्यक्रमहरू केका आधारमा तय होलान् ? स्पष्ट छैन ।

केन्द्रीय समितिको जारी चौथो बैठकमा भने नेताहरूबाट नीति महाधिवेशनको माग भएको छ। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले त नीति महाधिवेशनको मिति नै प्रस्ताव गरेका छन् । शनिबार केन्द्रीय समिति बैठकमा उनले भदौको दोस्रो साता नीति महाधिवेशन गर्नु उपयुक्त हुने बताए।उनले जोड दिएर भनेका पनि छन्, ‘नीति अधिवेशनको विधि, मिति र स्थान तय गरौँ ।’

उनै महामन्त्री शर्मा १३औँ महाधिवेशनपछि कांग्रेस प्रवक्ताको भूमिकामा थिए। उनले २८ कात्तिक २०७८ मा १४औँ महाधिवेशनको मिति यकिन गरेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एउटै महाधिवेशनले नीति र नेतृत्व चुन्दा नीतिमाथिको छलफल कमजोर हुने बताएका थिए।

सोही कारण पहिले नेतृत्व चयन र त्यसपछि नीतिको निर्धारण हुने उनको भनाइ थियो। यद्यपि, उनकै शब्दमा पार्टीको आगामी नीति निर्धारण गर्न नीति महाधिवेशन भएको छैन।

बैठकमा पार्टीमा आन्तरिक प्रतिपक्षी नेता भनेर चिनिएका नेता डा. शेखर कोइरालाले पनि नीति महाधिवेशनको एजेन्डा उठान गरेका छन्। उनले छिटो नीति तय गर्न नीति महाधिवेशन आवश्यक रहेकामा जोड दिए।

‘महाधिवेशनबाट नेतृत्व मात्र चयन भयो । नीतिका विषयमा कुनै छलफल भएको छैन’, डा. कोइरालाले बैठकमा भनेका छन्, ‘यथाशीघ्र पार्टीको नीति तय गर्ने महाधिवेशन आव्हान गर्न आग्रह गर्दछु।’

उनले पार्टीलाई नीतिअनुसार चलाउन पनि महाधिवेशन अनिवार्य हुने मत अघि सारे। हरेक राजनीतिक पार्टीले महाधिवेशनमार्फत देशसँगै विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकसँगै प्रविधिको क्षेत्रमा आएको फेरबदलमा आधारित रहेर समय सापेक्ष पार्टी नीति, त्यससम्बन्धी पार्टी दृष्टिकोणसँगै कार्यक्रम तय गर्ने गर्छन्। यद्यपि, कांग्रेसको छैन। देशकै ठूलो लोकतान्त्रिक दल नीतिविहीन छ। सैद्धान्तिक र राजनीतिक कार्यक्रमविहीन छ।

जारी बैठकमा देउवा निकट केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले पनि नीति महाधिवेनको औचित्य रहेको बताएकी छन्। उनले भनिन्, ‘…विधिको ब्याडमा नीतिको बिरुवा उमार्नुपर्छ। नीति समय देशकाल र परिस्थितिअनुरूप हुनुपर्छ।’

७ वर्षअघि १३औँ महाधिवेशन हुँदा भने कांग्रेसले महाधिवेशनमार्फत १२औँ महाधिवेशनताका नीति तथा कार्यक्रममा समय सापेक्ष संशोधन गरेको थियो। प्रजातान्त्रिक समाजवाद मार्ग निर्देशक सिद्धान्त किटान गर्दै कांग्रेसले राजनीतिक कार्यदिशा समयानुकूल तय गरेको थियो। यस पटक भने छैन।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको यसतर्फ पूरै बेवास्ता छ। आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनपछि मात्र नीति महाधिवेशन गर्ने पक्षमा छन् ।

यसलाई पुष्टि गर्नेगरी उनी निकट मानिने प्रवक्ता डा. प्रकाशशरण महतले द नेपालटपसँग भने, ‘सङ्घ र प्रदेशको निर्वाचनअघि भ्याउने स्थिति नहोला । त्यसपछि मात्र हुने सम्भावना छ । तर, नीति महाधिवेशन हुन्छ । यसमा कुनै द्विविधा छैन । आवश्यकता हेरेर उपयुक्त समयमा हुन्छ ।’

उनले कांग्रेससँग पुरानै भए पनि नीति, कार्यक्रम र सोहीअनुसारको घोषणापत्र भएको दाबी गरे। ‘६ महिनामा किन गर्न सक्नुभएन नीति महाधिवेशन?’ भन्ने प्रश्नमा उनले स्थानीय निर्वाचन र बर्खायामको समय भएकाले नीति महाधिवेशन सम्भव भएको भन्दै देउवाको बचाउ गरे।

प्रतिक्रिया दिनुहोस्