फस्टाउँदै मैथिली साहित्य



कमल मण्डल

जनकपुरधाम : केहि समययता मैथिली साहित्य फस्टाएको छ। मैथिली साहित्यका अन्य विधा भन्दा कविता विधाको अवस्था सन्तोषजनक देखिन्छ। कविता विधा तेज गतिमा अघि बढेको छ। फस्टाएको छ।

धमाधम निस्किदै मैथिली साहित्यीक पत्रिका

मैथिली साहित्यको संरक्षण, संवर्द्धन र विकासमा पूरानादेखि नयाँ पुस्ताका मैथिली भाषी सर्जकहरू जुटेकाले कविता मात्रै होइन मैथिली साहित्यका अन्य विधाले पनि दिनानुदिन छलाङ मारिरहेको छ। यहि मेसोमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट मैथिली भाषाको पत्रिका आंगन चाँडै प्रकाशन हुँदैछ।

यस पत्रिकाका प्रधानसम्पादक प्राज्ञ डा. योगेन्द्र प्रसाद यादव र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा हुन्। त्यस्तै सम्पादकमा साहित्यकार विनीत ठाकुर, डा. देवनारायण यादव र कृष्ण साह रहेका छन्।

अहिले मैथिली भाषामा त्रैमासिक आँजुर पत्रिका जनकपुरबाट नियमित रुपमा प्रकाशित छ। यस पत्रिकाको प्रधानसम्पादक रामभरोस कापडी भ्रमर हुन्। जनकपुरमा यो साहित्यक पत्रिका लोकप्रिय छ।

एफएममा घन्किन्छ मैथिली साहित्य, गोष्ठिको बाढी

मिथिला क्षेत्रमा खोलिएका प्रायःजसो सबै रेडियोबाट नियमित रुपमा मैथिली भाषामा समाचार प्रशारण हुँदैन, मैथिली भाषाका विभिन्न साहित्यीक गतिविधि पनि संचालन हुँदै आएका छन्।

विराटनगर, सप्तरी, लहान, जनकपुर, जलेश्वर, मलंगवा, काठमाडौं, वीरगन्ज, बुटवल लगायत देशका विभिन्न सहरमा मैथिली साहित्यकारले मासिक वा द्विमासिक रुपमा कवि गोष्ठि संचालन गरिरहेका छन्। त्यस्तै संवाद मिडियाको अनलाइन पत्रिका मिथिलानन लगायत विभिन्न नेपाली भाषाका साहित्यीक इ–पत्रिकाहरूले पनि मैथिली भाषालाई स्थान दिएको छ।

मैथिली साहित्यलाई सरकारको साथ

मैथिली भाषाका चर्चित श्रष्टा विनीत ठाकुर मैथिली भाषाको आफ्नै लिपी मिथिलाक्षरको प्रवर्द्धनमा लागिपरेका छन्। उनले देवनारी र मिथिलाक्षर (तिरहुता) लिपिको प्रयोग गरेर बाँकी अछि हमर दूधक कर्ज नामक गिती संग्रहसँगै बदलैत परिवेश कविता संग्रह, वसुन्धरा हाइकु संग्रह प्रकाशित गरिसकेका छन्।

विभिन्न साहित्यीक शोध, अध्ययन, अनुसन्धान लगायत मैथिली साहित्यमा उनले गरेको योगदानलाई कदर गर्दै नेपाल सरकारले उनलाई जनसेवाश्री पदक र प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित गरिसकेको छ। त्यस्तै उनी मधेश रत्नबाट समेत बिभुषित भइसकेका छन्।  

मैथिली भाषाको संरक्षण र संवर्द्धनमा योगदान दिनेलाई बिभुषित गर्न नेपाल सरकारले विद्यापति पुरस्कार कोषको स्थापना पनि गरेको छ। भाषा, कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएवापत विभिन्न ५ श्रष्टालाई ५ वटा विधामा प्रत्येक वर्ष यो पुरस्कार दिने गरिन्छ।

यो कोषको प्रधान कार्यालय प्राचिन मिथिलाको राजधानी जनकपुरमा रहेको छ। त्यस्तै जनकपुरमा मैथिली विकास कोषले पनि प्रत्येक वर्ष मैथिली भाषा, कला र साहित्यको सेवामा समर्पित २ जना श्रष्टालाई सम्मानित गर्ने गरेको छ।

राजविराजको मैथिली साहित्य परिषद्ले पनि साहित्यको प्रवर्द्धनमा योगदान गरिरहेको छ। मैथिली भाषाको संरक्षण र संवर्द्धनमा योगदान दिनेलाई बिभुषित गर्न नेपाल सरकारले विद्यापति पुरस्कार कोषको स्थापना पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्