फेसबुक ठूला सञ्चार माध्यमसँग सम्झौताको तयारीमा



एजेन्सी : समाचार सामग्रीहरु पुनः प्रकाशित गर्ने लाइसेन्स प्राप्त गर्नका लागि सोसल मिडिया साइट फेसबुकले विश्वका चर्चित समाचार एजेन्सीहरुसँग सम्झौताको तयारी गरेको छ। वालस्ट्रिट जर्नलका अनुसार फेसबुकले यस्ता प्रकाशक तथा सञ्चार माध्यमहरुसँग उनीहरुका समाचार फेसबुकमा पुनः प्रकाशित गर्ने सम्झौताका लागि दशौं लाख डलर तिर्नुपर्नेछ।

पहिलो चरणमा फेसबुकले एबीसी न्युजका साथै ब्लुम्बर्ग, डाउ जोन्स तथा वाशिङटन पोष्टसँग कुरा गरिरहेको छ। फेसबुकले आफ्नो साइटमा समाचारको खण्ड थप गर्ने तयारी गरेको छ र सोही खण्डमा यी मिडियाहरुका समाचारलाई पुनः प्रकाशित गर्नेछ।

यद्यपि, फेसबुकमा सञ्चार माध्यमका समाचारका शीर्षक वा संक्षित भाग मात्र देखिनेछ र पूरै समाचार पढ्नका लागि फेसबुकमै क्लिक गरेर सम्बन्धित मिडियाको वेबसाइटमा पुगिनेछ।फेसबुकले समाचारको साझेदारी सम्झौताका लागि प्रकाशकहरुसँग लामो समयसम्मको सम्झौताको प्रतिबद्धता जनाइरहेको छ।

स्मरण रहोस् समाचार एजेन्सीहरुसँग फेसबुकको सम्बन्ध विरोधाभाषपूर्ण रहँदै आएको छ। फेसबुक तथा गुगलजस्ता कम्पनीहरुले डिजिटल विज्ञापन बजारमा कब्जा जमाएको र त्यसले सञ्चार उद्योगलाई नकारात्मक असर पारेको छ। अमेरिकामा मात्रै पनि अखबार, म्यागेजिन तथा डिजिटल मिडिया कम्पनीहरुबाट फेसबुकले ठूलो परिमाणमा अनलाइन विज्ञापन खोस्न सफल भएको छ।

यद्यपि, पछिल्लो समय मिडियाहरुले समेत फेसबुकमार्फत नै ठूलो संख्याका पाठक तथा दर्शकहरु आफूतर्फ तान्ने प्रयास गरिरहेका छन्। फेसबुकमा रहेका करोडौं प्रयोगकर्तालाई आफूसँग जोड्नका लागि फेसबुकलाई माध्यम बनाउने मिडिया एजेन्सीहरुको संख्या पनि बढिरहेको छ। यस्तोमा फेसबुकले गरेको सहकार्यको प्रस्ताव विश्वका चर्चित सञ्चार एजेन्सीहरुले सहजै स्वीकार गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्