मुखबाट ३२ दाँत गायब, घाँटी दुखेपछि यसरी फेला पारियो



एजेन्सी : एकजना वृद्धको मुखबाट एक्कासि सप्पै दाँत हराए । मुखबाट दाँत नै हराउँदा पनि थाहा नपाउने कस्तो हुस्सु होला ? भन्नुहोला। तर धन्न, ८ दिनपछि हराएका दाँत भेटिए, जब ती वृद्धको घाँटी दुखाइको कारण पत्ता लाग्यो।

बेलायतका ७२ वर्षका ती वृद्धको पेटको शल्यक्रिया भएको थियो। जसका कारण उनलाई निकै पीडा भैरहेको थियो। खोक्दाखेरी मुखबाट रगत आउने भएका कारण एक हप्तादेखि उनले केवल तरल पदार्थ मात्र खाइरहेका थिए।

जाँचका क्रममा डाक्टरहरुले उनको स्वास नलीमा संक्रमण भएको पत्ता लगाए। औषधि दिएर उनलाई घर पठाए। शल्यक्रिया पछि घाँटीमा ट्युब हाल्दा साइड इफेक्टका कारण दुखाइ महसुस भएको हुनसक्ने डाक्टरहरुले बताएका थिए।

तर औषधि खाँदा पनि उनको दुखाइ कम भएको थिएन । स्थिति झनै बिग्रिँदै गयो। डाक्टरहरुले दोस्रोपटक जाँच गर्दा पो गला दुखाइएको खास कारण पत्ता लाग्यो। ८ दिनअघि भएको शल्यक्रियाका क्रममा ती वृद्धको मुखमा रहेका कृत्रिम दाँत गायब भएका थिए। वास्तवमा उनका मुखबाट ती दाँत खुस्किएर घाँटीमा अड्किएका रहेछन्।

अन्ततः उनको घाँटीमा फसेका कृत्रिम दाँतहरु डाक्टरहरुले बाहिर निकालेपछि मात्र उनको दुखाइ निको भएको छ। बिरामीको शल्यक्रियाका क्रममा कृत्रिम दाँत मुखमै छाड्दा यसरी दाँत निलिने खतरा भएको मेडिकल जर्नल बिएमजेमा उल्लेख गरिएको छ। ती वृद्धको नाम गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्