रेष्टुरेन्टको अनौठो अफर, मोबाइल बन्द गरेमा सित्तैमा पिज्जा



एजेन्सी : कहिलेकाहीँ कुनै रेष्टुरेन्टले यस्ता गज्जबका अफर ल्याउँदछन् कि सुन्दैमा मुखमा पानी भरिन्छ। अमेरिकामा रहेको एउटा रेष्टुरेन्टले हालै यस्तै अनौठो तर गज्जबको अफर ल्याएको छ। जस अनुसार रेष्टुरेन्टमा सित्तैमा पिज्जा खान पाइनेछ, र त्यसका लागि एउटा सानो सर्त पूरा गरे पुग्नेछ।

क्यालिफोर्नियास्थित द करी पिज्जा नामक रेष्टुरेन्टले यस्तो अफर ल्याएको हो। उक्त रेष्टुरेन्टमा आउने ग्राहकले यदि आफ्नो मोबाइल लकरमा राखेमा उनीहरुले सित्तैमा पिज्जा खान पाउनेछन्।

आफ्नो मोबाइल लकरमा राखेर पाएकेा सित्तैमा पिज्जा उनीहरुले आफै खान वा दान गर्न समेत सक्नेछन्। सित्तैमा पिज्जा पाउनका लागि एक्लै गएर हुँदैन। कम्तिमा ४ जनाको समूहमा जानु पर्दछ र सबैसँग स्मार्टफोन हुनै पर्दछ।

ग्राहकको फोनलाई लकरमा राख्नुअघि रेष्टुरेन्टका कर्मचारीले फोनको चेकजाँच गर्दछन् ता कि फोन सद्दे होस् । त्यसपछि फोनलाई लकरमा राखिन्छ। रेष्टुरेन्टमा खाना खाएर निस्कने बेलामा उनीहरुलाई आफ्नो फोन फिर्ता दिइन्छ।

यद्यपि उनीहरुले तत्कालै सित्तैमा पिज्जा पाउने होइन । २४ घण्टाभित्र दोश्रो पटक रेष्टुरेन्टमा आएका बखत उनीहरुले सित्तैको पिज्जा पाउँछन्। यो अफर सुरु भएको करीब ३ हप्ता बितिसकेको छ। अहिलेसम्म रेष्टुरेन्टले ५० वटा ठूलो आकारका पिज्जा सित्तैमा बाँडिसकेको छ।

मोबाइल लकरमा राखिदिएर सित्तैमा पिज्जा दिने अफर ल्याउनुको खास कारण छ। वास्तवमा मानिसहरुमा मोबाइलको लत छुटाउन तथा समूहमा कुराकानी तथा छलफल गर्नका लागि प्रेरित गर्न रेष्टुरेन्टले यस्तो अफर ल्याएकेा बताएको छ।

मानिसहरु रेष्टुरेन्टमा खान आउँदा समेत मोबाइलमा झुण्डिरहने र एक अर्कामा कुराकानी समेत नगर्ने गर्दा मानिसहरुबीच दूरी बढिरहेकेा महसुस गरी यस्तो योजना अघि सारिएको रेष्टुरेन्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्