जब ट्याक्सीभित्रै बच्चा छुट्यो…



एजेन्सी : यात्राका क्रममा ट्याक्सीमा आफ्नो पर्स, मोबाइल, झोला आदि चिजहरु छुटेको घटना त हामीले देखे भोगेकै छौँ। तर जर्मनीमा चाहीँ एक दम्पत्तिले ट्याक्सीमा आफ्नो नवजात बच्चा नै छुटाएका छन्। जर्मनीको ह्याम्बर्ग सहरमा यो अनौठो तथा अविश्वसनीय घटना भएको छ। आफ्नो नवजात शिशु अस्पतालबाट लिएर ट्याक्सीमा घर फर्किँदै थिए उनीहरु। दोश्रो बच्चाको आमाबुवा बनेकोमा उनीहरु निकै उत्साहित थिए।

उनीहरु ट्याक्सीमा चढेर घर पुगेपछि पति पत्नी मात्र ट्याक्सीबाट बाहिर निस्किए र सरासर घरभित्र लागे। घरभित्र पुगेपछि पो बल्ल उनीहरुलाई आफ्नो बच्चा ट्याक्सीभित्रै छुटेको याद भयो। तब हतारिँदै उनीहरु बाहिर आए। तर त्यतिबेला सम्म ट्याक्सी हिँडिसकेको थियो। त्यसपछि उनीहरु तत्कालै पुलिसकोमा गए। पुलिसले बच्चा ट्याक्सीमा छुटेको सूचना आफ्ना सबै चौकीहरुमा गर्यो।

उक्त ट्याक्सी चालक ती दम्पत्तिलाई घरमा छाडेर अरु ग्राहक खोज्न एयरपोर्ट तिर लागेछ। एयरपोर्टमा ट्याक्सी पार्क गरेको बेलामा पछाडि बच्चा रोएको आवाज सुनेपछि ऊ झसँग भयो। बल्ल उसलाई ती दम्पत्तिले आफ्नो बच्चा ट्याक्सीभित्रै छाडेको थाहा भयो। ट्याक्सी चालकले तत्कालै पुलिसलाई सम्पर्क गरी आफ्नो ट्याक्सीमा एक दम्पत्तिले आफ्नो बच्चा छाडेको जानकारी गरायो।

ट्याक्सीमा हराएको बच्चाको खोजी सुरु गरिसकेकेा पुलिसका लागि ट्याक्सी चालकको त्यो फोन कलले ठूलो राहत प्रदान गर्यो। पुलिसले तत्कालै उक्त ट्याक्सी तथा चालक र बच्चालाई लिएर सोही पुलिस चौकीमा गयो जहाँ बच्चाका आबाबुवा बसिरहेका थिए। त्यहीँ नै ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा छुटेको बच्चा उसका बाबुआमालाई हस्तान्तरण गर्यो।

यो घटनाको बारेमा पुलिसले कुनै सार्वजनिक सूचना तथा समाचार जारी गरेको थिएन। तर ती दम्पत्ति आफैले नै सोसल मिडिया मार्फत घटनाको बेलिविस्तार लगाएपछि यसले सनसनी मच्चायो। उनीहरुले सोसल मिडियामा गरको पोष्ट छिटै नै भाइरल बनेको थियो।

प्रतिक्रिया दिनुहोस्