बियर मात्र पिएर ४६ दिनसम्म उपवास !



एजेन्सी : हामीकहाँ पानी तथा फलफूल खाएर उपवास बसिन्छ। कतिपय त निराहार पनि उपवास बस्दछन्। तर अमेरिकामा चाहिँ एकजना व्यक्ति बियर पिएर उपवास बसे। त्यो पनि एक दुई दिनमात्र कहाँ हो र ? पूरै डेढ महिना। अमेरिकाको ओहियो सहरमा बस्ने डेल हट नामका ती युवकले ४६ दिनसम्म बियर बाहेक अरु कुनै पनि खानेकुरा खाएनन्।

४६ दिनसम्म बियर डाइटिङ गर्दा उनको शरीरको वजन २० किलो घटेछ। डेल हट आफैं एक रक्सी उत्पादक कम्पनीमा काम गर्दछन्। बौद्ध भिक्षुले अपनाउने तरल भोजनको विधिबाट प्रेरित भएर आफूले केवल बियर मात्र पिएर उपवास बसेको उनको दाबी छ।

बियर डाइटिङ गर्नुअघि उनको शरीरको वजन १३२ किलो थियो। जब उनले ४६ दिनसम्म केवल बियर मात्रै पिए, तब उनको तौल घटेर १ सय १२ किलो भएको छ। ४६ दिनसम्म बियर मात्र पिउँदा आफूलाई कुनै पनि समस्या नभएको उनले बताए।

बौद्ध भिक्षुहरुले उपवासका क्रममा पानीको विकल्पका रुपमा पोषक तत्वले भरिपूर्ण बियरको सेवन गर्ने र आजको समयमा त्यस्तो भोजन विधि निकै उपयोगी रहेको उनको दाबी छ। ४६ दिनसम्म बियर मात्र पिएर उपवास बसेपछि आफू अहिले झनै तन्दुरुस्त तथा स्वस्थ महसूस गरेको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्