बर्नलेमाथि आर्सनलको संघर्षपूर्ण जित



काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित हात पारेको छ। शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गरेको हो।

आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेटी र पिएरे एम्रिक औबामेयाङले गोल गरे। पराजित टोलीका एस्ले बर्नेसले एक गोल फर्काए। खेलको १३औं मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, बर्नलेका बर्नेसले ४३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १–१ को बराबरी खेलेको आर्सनलका लागि ६४औं मिनेटमा औबामेयाङ्ले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए। तर, त्यसपछि गोल भएन र आर्सनलले महत्वपूर्ण ३ अंक बटुल्यो।

आर्सनलले उद्घाटन खेलमा न्यूक्यासल युनाइटेडलाई पराजित गर्दै नयाँ सिजन सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्