६ लाख हेक्टर खेत बाँझै



काठमाडौं । धान रोपाइँ हुने ६ लाख ५ हजार हेक्टर जमिन अझै बाँझै रहेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार देशभर १५ लाख क्षेत्रफल हेक्टर जमिनमा धान रोपाइँ हुन्छ।

२८ असारसम्मको तथ्याङ्कअनुसार देशभर ८ लाख ९९ हजार हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष सोही समयमा ११ लाख ३६ हजार हेक्टरमा रोपाइँ भइसकेको थियो। गत वर्षको तुलनामा यस वर्ष ५ लाख ३१ हजार हेक्टर कम जमिनमा रोपाइँ भएको छ। सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यताले प्रतिशतका आधारमा गत वर्षभन्दा ८ प्रतिशतले धान रोपाइँ कम भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए।

उनले समयमै मनसुन सुरु भए पनि मनसुन सक्रिय नहुँदा २८ असारसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको बताए । गत वर्ष सोही अवधिमा ७६ प्रतिशत रोपाइँ सकिएको थियो । उनले रोपाइँ कम हुनुको प्रमुख कारण मनसुन नै भएको बताए। कृषि मन्त्रालयको अनुसार २८ असारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ भएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम भएको छ।

सुदूरपश्चिम प्रदेशमा २८ असारसम्ममा ८७ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ९१ प्रतिशत धान रोपाइँ भएको थियो । गत वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा ८ प्रतिशत धान रोपाइँ घटेको छ। सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने कुल १ लाख ७८ हजार १६७ क्षेत्रफल हेक्टर छ, जसमा १ लाख ५५ हजार ८७८ हेक्टर खेतमा रोपाइँ भएको छ।

गत वर्ष सोही अवधिमा १ लाख ६२ हजार १३२ क्षेत्रफल हेक्टर जमिनमा रोपाइँ भएको थियो । यसैगरी कर्णाली प्रदेशमा २८ असारसम्म ५६ प्रतिशत मात्र धान रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा ८२ प्रतिशत भएको थियो । गत वर्षको तुलनामा कर्णाली प्रदेशमा २६ प्रतिशत घटेको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने कुल ३ लाख २० हजार हेक्टरमध्ये २ लाख १८ हजार हेक्टर जमिन मात्र रोपाइँ भएको छ ।

गत वर्ष सोही अवधिमा ३ लाख १८ हजार हेक्टर जमिनमा रोपाइँ भएको थियो। प्रतिशतका आधारमा लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा १२ प्रतिशत कम रोपाइँ भएको छ। २८ असारमा ८७ प्रतिशत धान रोपाइँ भएको थियो भने यस वर्ष सोही समयमा ५५ प्रतिशत मात्र भएको हो।

गण्डकी प्रदेशमा कुल धान रोपाइँ हुने १ लाख हेक्टर छ, जसमा ७९ हजार हेक्टर जमिन रोपाइँ भएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा भने गत वर्षको तुलनामा ७ प्रतिशतले धान रोपाइँ बढी भएको छ । गत वर्ष सोही अवधिमा गण्डकी प्रदेशमा ७२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यस वर्ष ९७ प्रतिशत भएको छ।

यसैगरी बाग्मती प्रदेशमा २८ असारसम्म ६५ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष ७८ प्रतिशत रोपाइँ भएको थियोे । यो गत वर्षको तुलनामा ३५ प्रतिशत कम हो । मन्त्रालयको तथ्याङ्कअनुसार बाग्मती प्रदेशमा १ लाख २० हजार क्षेत्रफल हेक्टरमा रोपाइँ हुन्छ, जसमा ७८ हजार ७९५ हेक्टरमा रोपाइँ भएको छ । मधेस प्रदेशमा असारसम्म ३९ प्रतिशत रोपाइँ भएको छ।

सोही समय गत वर्ष ६९ प्रतिशत रोपाइँ भएको थियो। मधेस प्रदेशमा पनि गत वर्षको तुलनामा ३० प्रतिशत धान रोपाइँ कम भएको छ। प्रदेश १ मा २८ असारसम्म ४९ प्रतिशत मात्र धान रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा ६४ प्रतिशत रोपाइँ भएको थियो । यो गत वर्षको तुलनामा १५ प्रतिशत कम हो।

प्रतिक्रिया दिनुहोस्