बैंकमा साढे ६ क्विन्टल सुन, बजारमा मूल्य उच्च : बिक्री शून्य



काठमाडौं : सुनको भाउमा अचाक्ली वृद्धि भएछि नेपाली बजारमा सुन कारोबार ठप्पजस्तै भएको छ । बजारमा सुनको माग नभएपछि आयात गरेको ६ सय ४२ किलो सुन बैंकमै थुप्रिएको छ । ‘बैंकले लिन आऊ भन्छ । तर, बजारमा माग छैन,’ नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । 

शुक्रबार र शनिबार सुन प्रतितोला ७१ हजार पाँच सयमा खरिद–बिक्री भयो । दुई सातायता मात्र प्रतितोला साढे ६ हजारले बढेको छ भने दुई महिनायता प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ । सुनको भाउ अकासिँदै गर्दा चाडपर्वमा नेपाली उपभोक्ता सुनतर्फ आकर्षित भई खरिदबिक्रीमा उत्साहित देखिने विगतको चलनमा यसपालि भने ब्रेक लागेको देखिन्छ । सुनपसल सुनसान देखिएका छन् । कुनै–कुनै पसलमा दिनभरमा एकजना ग्राहक पनि गएको देखिँदैन । बरु उल्टै गहना बिक्री गर्ने ग्राहक भेटिन्छन् । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजार पनि प्रभावित बनेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका इरान तनाव र भारतको कस्मिर विवादले सुनको भाउ अन्तर्राष्ट्रियस्तरमै अकासिएको हो । शनिबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार पाँच सय १५ अमेरिकी डलर पुग्यो । दुई साताअघि एक हजार चार सय ५० डलर थियो । एक महिनायता मात्र प्रतिऔँस ८६ डलर बढिसकेको छ । ६ महिनाको तुलना गर्ने हो भने प्रतिऔँस एक सय ९५ डलरले बढेको छ । 

सुनको सबैभन्दा उच्च मूल्य सन् २०१० र २०११ को बीचमा भएको थियो । त्यसवेला प्रतिऔँस एक सय नौ डलरसम्म पुगेको थियो । त्यो नेपाली बजारमा ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो । तर, त्यसवेला अहिलेभन्दा नेपाली रुपैयाँ डलरसँग मजबुत भएकाले सुनको मूल्य ६३ हजार तीन सयमै समेटिएको थियो । 

यस्तै परिस्थिति रहे आगामी साता पनि मूल्य बढ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको अध्यक्ष मोहनकुमार विक बताउँछन् । ‘तर, के हुन्छ ठ्याक्कै अनुमान गर्न कठिन छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा प्रभाव पर्छ । अहिलेको परिस्थितलाई हेर्दा आगामी दिन पनि बढ्ने अनुमान गर्न सकिन्छ ।’ 

भारत र कस्मिरबीच भएको तनावका कारण एसियाली बजारमा सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । ‘अहिले भारतीय रुपैयाँ कमजोर भएको छ,’ उनले भने, ‘यसका कारण नेपाली रुपैयाँ पनि कमजोर भएको छ । त्यसैले सुनको मूल्य बढेको हो ।’ 

६ वर्षअघि ०७० ताका सुनको भाउ आकासिँदै प्रतितोला ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । त्यसवेला सुन विश्लेषकले अझ बढेर ७० हजार नाघ्ने अनुमान गरेका थिए । तर, त्यसविपरीत भाउ घट्दै ४७ हजार ८ सयमा आयो । ‘त्यसवेला ग्राहक मात्रै होइन व्यवसायीसमेत मारमा परेका थिए,’ उनले भने, ‘त्यसैले सुनमा संयमित भएर लगानी गर्नुपर्छ ।’ 

‘कारोबार शून्य बराबर’ 

सुनको मूल्य चुलिएपछि कारोबार शून्य बराबर देखिएको सुन चाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । ‘अहिले बजारमा पुरानो गहना बिक्री गर्न आउने मात्रै छन् । खरिद गर्ने शून्य छन्,’ उनले भने, ‘यस्तै अवस्था केही दिन रहे पसल बन्द गरेर बस्नुपर्ने हुन्छ,’ उनले भने । उनका अनुसार चाडपर्व नजिकिएकाले एकदमै आवश्यक पर्नेले मात्रै न्यून मात्रामा सुन खरिद गरेका छन् । अन्यथा बढेको मूल्यमा पुराना सुन बिक्री गर्न आउने ग्राहक बढेको उनले जानकारी दिए । 

अमेरिका–चीन–इरान व्यापार युद्ध 

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय पुँजीबजारमै लगानीकर्ता निरुत्साहित भएका छन् । अमेरिकाले चीनबाट हुने तीन सय अर्ब डलरको आयातमा १० प्रतिशत कर लगाएको छ । यसले सेयरको भाउमा ठूलो गिरावाट ल्याएको छ । सेयरबजारमा चलखेल हुने पैसा बैंकमै थुप्रिएको छ । बैंकमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले ब्याजदरमा ठूलो कटौती गरेका छन् । फेडरल रिजर्भ बैंकले गत महिनादेखि शून्य दशमलव २५ प्रतिशत ब्याजदर घटाएको छ । बैंकले ब्याज घटाएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् । 

भारतको कस्मिर विवाद 

भारतको कस्मिर विवादले पनि भारतीय रुपैयाँ डलरसँग कमजोर बनेको छ । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर रहेकाले पनि त्यसको असर यहाँ परेको हो । 

 नेपाली मुद्राको अवमूल्यन 

भारतीय मुद्राको अवमूल्यनसँगै नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । एक महिनाअघिको तुलनामा नेपाली मुद्रा प्रतिडलर चार रुपैयाँले कमजोर भइसकेको छ । असार अन्तिम साता प्रतिडलर एक सय १० रुपैयाँ नेपाली मुद्रा रहेकामा अहिले एक सय १४ रुपैयाँ नाघिसकेको छ । यसले पनि सुनको भाउ बढाउन मद्दत पुगेको हो । 

वर्षमा साढे ३४ अर्बको सुन आयात

बढ्दो सुनको मूल्यले बजारमा यसको आयातलाई भने कुनै असर गरेको दैखिँदैन । भाउ अकासिँदै गर्दा आयातमा शिथिलता आउनुपर्नेमा अझ बढेको देखिन्छ । भन्सार विभागका अनुसार गत आवमा ३४ अर्ब ६१ करोड रुपैयाँबराबरको सात हजार चार सय ९३ केजी सुन आयात भएको थियो । अघिल्लो आव ०७४/७५ मा भने ३१ अर्ब ९७ करोड रुपैयाँबराबरको सात हजार दुई सय ३२ केजी सुन आयात भएको थियो । गत वर्ष आयातको तुलनामा साढे तीन प्रतिशत बढीले सुन आयात भएको हो । रुपैयाँमा तुलना गर्ने हो भने आव ०७४/७५ को तुलनामा ०७५/७६ मा आठ प्रतिशतले बढी आयात भयो ।  

आव ०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँबराबरको पाँच हजार चार सय ५० केजी सुन आयात भएको थियो । आव ०७२/७३ मा १६ अर्ब सात करोड रुपैयाँबराबरको ४ हजार १ सय ६५ केजी भित्रिएको थियो ।  नयाँ पत्रिका दैनिकबाट साभार 

प्रतिक्रिया दिनुहोस्