कश्मीरमा १२ दिनपछि टेलिफोन, इन्टरनेट सेवा सुरु



श्रीनगर : भारत प्रशासित कश्मीरमा झण्डै दुई सातादेखि बन्द गरिएको फोन सेवा र इन्टरनेट सेवा आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि शुरु गरिएको छ ।

प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाइन आइतवार अपरान्ह्बाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ । अगस्ट ५ मा जम्मु–कश्मीरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाल काटिएकोे थियो ।

जम्मु कश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, ‘बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ । यहाँ विगत केही दिनदेखि अवरुद्ध केही सञ्चार सेवा सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्म सञ्चालनमा आउनेछन् ।’ सिंहका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जले काम गर्न थाल्नेछन् ।

सीमा क्षेत्रमा भिडन्त

कश्मीरस्थित सीमाक्षेत्रमा शनिवार पनि गोली हानाहान भएको छ । पाकिस्‍तानी भूभागबाट बिहान ६ः३० बजे गोली प्रहार शुरु भएको भारतीय सेनाले बताएको छ । पाकिस्‍तानी सेनाको गोलीबाट भारतीय जवान सन्दीप थापाको मृत्यु भएको छ ।

भारतीय रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले जवाबी कारबाहीमा कैयौं पाकिस्तानी सैनिक मारिएको बताएका छन् । उनले भने, ‘नौशेरा क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गरेपछि हाम्रो सेनाले प्रतिउत्तर दिएको थियो । उनले ४ जना पाकिस्तानी सैनिक मारिएको जानकारी दिए ।

कश्मीर डेस्क खोल्दै पाकिस्तान

जम्मु कश्मीरबाट धारा ३७० असन्तुष्ट बनेको पाकिस्तानले विभिन्न देशस्थित आफ्ना उच्चायोगमा कश्मीर डेस्क शुरु गर्ने भएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्मा उसले उठाएको कश्मीर विवादबारे सफलता नमिलेपछि पाकिस्तानले यस्तो कदम चालेको हो । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले कश्मीर विवादबारे उच्चस्तरीय बैठकलगत्तै उक्त डेस्क स्थापना गर्ने घोषणा गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्