५० को दशकमा स्ववियुले जन्माएका एमाले नेता



काठमाडौं । राजनीतिक कारणले पनि महŒवपूर्ण मानिएका प्रदर्शनीमार्गका २ वटा क्याम्पस नेपाल ल क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पसको विद्यार्थी राजनीतिको राम्रै असर कुनै समय राष्ट्रिय राजनीतीमा पनि पथ्र्यो । यिनै क्याम्पसमा २०४९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जित हात पारेको थियो ।

त्यस समयका आरआर क्याम्पसका स्ववियु सभापति राजेन्द्र राई र नेपाल ल क्याम्पसका कर्ण थापा अहिले पनि राष्ट्रिय राजनीतिमा चर्चामा छन् । संयोग मान्नुपर्छ, थापा एमाले अध्यक्ष केपी ओलीका निकट पात्रका रूपमा परिचित छन् भने राई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालका विश्वास पात्र । राई प्रदेश १ मा मुख्यमन्त्री छन् भने थापा गत प्रतिनिधिसभा निर्वाचन अगाडि नै मुख्यमन्त्रीमा प्रस्तावित नाम । र, केही समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत भए थापा । पछि उनलाई हटाएर महेश बस्नेतलाई उक्त मन्त्रालय जिम्मा दिइयो ।

प्रदेशसभा सांसद हुँदै मुख्यमन्त्री बन्ने योजना बनाएका थापा सुदूरपश्चिम प्रदेशमा उनको पार्टीले प्रत्यक्षमा कम महिला उठाएको तथा प्रत्यक्षमा धेरै सिट जितेपछि समानुपातिक सांसद हुन नै कानुनी व्यवधान आइपरेको थियो । अहिले यी २ जनाको पार्टी राजनीतिमा उचाइ भने उस्तैउस्तै छ ।

सोही समयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति भएका जगन्नाथ खतिवडा भने एकीकृत समाजवादीका प्रवक्ता छन् ।

समकालीन पुस्ताका यी ३ जना अहिले राष्ट्रिय राजनीतिमा छाए पनि यही पुस्ताका मधुसूदन पौडेल र रूपनारायण श्रेष्ठको प्रभाव भने खासै छैन ।

नेकपा एमाले विभाजित भएर वामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन हुँदा पार्टी नेतृत्वको विश्वास पात्र बनेका श्रेष्ठले विक्रमको २०६० को दशकपछि राजनीतिमा प्रभाव गुमाउँदै गए । पौडेल २ पटक संविधानसभा निर्वाचनमा उम्मेदवार भएर पराजित भए पनि केही वर्ष ललितपुर एमालेको नेतृत्व गरेका थिए ।

२०४९ सालदेखि २०५४ सालसम्म नेपालको विद्यार्थी राजनीतिमा धेरै आरोह र अवरोह देखापरे । एमाले निकट अनेरास्ववियु नेतृत्वको हस्तक्षेपका कारण विवादमुक्त हुनै सकेन । यसै समयमा अनेरास्ववियुको नेतृत्व रामनाथ ढकाल, योगेश भट्टराई, हिक्मत कार्की र अरुण नेपालले गरेका थिए ।

तत्कालीन महासचिव माधवकुमार नेपालका प्रिय पात्र अरुण नेपालले पछिल्लो पार्टी विभाजनमा नेकपा एस भने रोजेनन् । हाल उनी सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य छन् । २०५१ सालमै सांसद भएका ढकालको केही वर्ष अगाडि निधन भइसकेको छ ।

यसैगरी, योगेश एमालेका सचिव छन् भने भानुभक्त स्थायी कमिटी सदस्य छन् ।

त्यसो त त्यस समयमा अनेरास्ववियुको राजनीतिमा रहेका एउटै पुस्ताका धेरै जना अहिले गुमनाम छन् । २०४९ सालमै पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियु सभापति भएका रवीन्द्र अधिकारी २०५३ सालमा केन्द्रीय क्याम्पस कीर्तिपुरमा समेत सभापति भएका थिए । केन्द्रीय राजनीतिमा प्रभावकारी उपस्थिति जनाइसकेका उनको पर्यटनमन्त्री बहाल रहेकै अवस्थामा होलिकोप्टर दुर्घटनामा परी निधन भइसकेको छ ।

२०५१ सालमा स्ववियु सभापति भएका धेरै जना भने नेपालको राजनीतिमा खासै छाएका देखिएन । अमृत साइन्स क्याम्पसमा २०४९ र २०५१ सालमा स्ववियु सभापति बनेका कुमार गुरुङ अस्वस्थ भएपछि राजनीतिबाट टाढा भए । २०५१ सालमा पाटन क्याम्पसमा स्ववियु सभापति भएका गोकर्ण ज्ञवाली, नेपाल ल क्याम्पसमा सभापति भएका टेकप्रसाद चौलागाईं र नेपाल कमर्स क्याम्पसका सभापति भएका देवराज न्यौपाने अहिले मूलधारको राजनीतिबाट गुमनाम छन् ।

यसरी एउटै पुस्ताका नेताहरूको अहिलेको ‘पोेजिसन’ फरक हुनुमा समय, परिस्थिति, भौगोलिक अवस्था र पाएको जिम्मेवारी बहन गर्ने क्षमता नै मुख्य कारण भएको एमाले पोलिटब्युरो सदस्य कर्ण थापा बताउँछन् ।

‘हामीले महत्वपूर्ण समयमा जोखिम पनि मोल्यौँ । पाएको जिम्मेवारी बहन पनि गर्‍यौं । सही समयमा सही निर्णय पनि ग¥यौँ । समय र परिस्थितिले कति साथीको हकमा यो भएन होला’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस्