लगातार दोस्रो जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा



काठमाडौं : लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ। शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–१ ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभपुललाई जिताउन साडियो माने र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरे। पराजित टोलीका लागि डेन्नी इन्ग्सले एक गोल फर्काए। पहिलो हाफको इन्ज्युरी समयमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए।

यस्तै खेलको ७१औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। तर, ८३औं मिनेटमा इन्ग्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयत्न गरेका थिए। तर, बाँकी समयमा गोल नहुँदा लिभरपुलले महत्वपूर्ण ३ अंक जोड्यो।

जितसँगै २ खेलबाट ६ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। उसले समान अंक रहेको आर्सनललाई गोलअन्तरका आधारमा पछि पार्दै शीर्ष स्थान ओगटेको हो। साउथह्याम्पटनको भने यो लगातार दोस्रो हार हो।

प्रिमियर लिगका अन्य खेलमा एभर्टनले वाट्फोर्डलाई १–०, नर्विचले न्यूक्यासललाई ३–१, बर्नमाउथले एस्टन भिल्लालाई २–१ ले हराउँदा ब्राइटन र वेष्ट ह्यामले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

प्रतिक्रिया दिनुहोस्