धानलाई नआउने नै भयो जीटुजीको मल



काठमाडौं । सरकार सरकारबीच (जीटूजी)मार्फत खरिद गर्ने भनिएको रासायनिक मल धान बालीका लागि नआउने भएको छ । बर्सेनि मुख्य बाली धानका लागि रासायनिक मलको चरम अभाव हुन थालेपछि सरकारले भारत सरकारसँग सरकार सरकारबीच रासायनिक मल खरिद गर्न ५ वर्षे सम्झौता गरेको थियो ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार धान बालीका लागि करिब १ लाख मेट्रिक टन रासायनिक मलको आवश्कता पर्छ । मन्त्रालयको २४ असारसम्मको तथ्याङ्क अनुसार साल्ट टे«डिङ कर्पाेरेसनसँग र कृषि सामग्री कम्पनीसँग गरी युरिया ५ हजार ६७५ मेट्रिक टन र डीएपी ९ हजार ३९७ मेट्रिक टन मात्र मौज्दात छ । जसमा साल्ट टे«डिङसँग युरिया ५ हजार ४५६ मेट्रिक टन छ भने डीएपी ५ हजार ६६ मेट्रिक टन छ ।

त्यस्तै कृषि सामग्रीसँग युरिया २१९ मेट्रिक टन र डीएपी ४३३ मेट्रिक टन मात्र छ । कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल भारतको कोलकत्ता आइपुगेको छ । सो मल साउनको दोस्रो हप्तासम्म नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटुजीमार्फतको खरिद गर्ने भनिएको मल धान बालीलाई आइनपुग्ने जानकारी दिए । ‘नेपालको तर्फबाट मल खरिद गर्ने सबै प्रक्रियामा सहमति भइसकेको छ ।’ कार्कीले भने,‘भारत सरकारको तर्फबाट आउनुपर्ने सहमतिलाई पर्खिरहेका छौँ । हामी भारतबाट सहमति भएर आउँछ भन्नेमा ढुक्क छौँ ।’ उनले भने,‘नेपाल र भारत सरकार बीचका केही कानुनी प्रावधान नमिल्दा जीटुजी मल खरिद प्रक्रिया टुङ्गो लाग्ने ढिलाइ भएको हो ।

यस वर्ष धान बालीलाई नआए पनि आउने वर्षका लागि सहज हुने कार्कीको भनाइ । उनले सो मल धान बालीलाई नभएर अब गहुँ बालीका लागि प्रयोग हुने बताए । उनले ४२ हजार मल खरिदका लागि अर्थ मन्त्रालयलाई थप स्रोत सुनिश्चितता गरिदिन माग गरेको बताए ।

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिए २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन युरिया ल्याउने कार्कीले जानकारी दिए । उनले जीटूजीको मल ल्याउन नसक्दा यसपटक पनि धान बालीलाई मलको अभाव हुने बताए ।

गत १६ फागुनमा जीटूजीमार्फत ५ वर्षसम्म रासायनिक मल खरिद गर्ने निर्णय भएको थियो । जसमा पहिलो वर्ष युरिया १ लाख ५० हजार मेट्रिक टन खरिद गर्ने सम्झौता भएको थियो । त्यस्तै, दोस्रो वर्ष सन् २०२२-०२३ का लागि युरिया १ लाख १० हजार मेट्रिक टन र डीएपी ६० हजार मेट्रिक टन गरी १ लाख ७० हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता भएको थियो ।

सन् २०२३-०२४ का लागि युरिया १ लाख १५ हजार मेट्रिक टन र डीएपी ८० हजार मेट्रिक टन गरी १ लाख ९५ हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता भएको थियो । सन् २०२४-०२५ का लागि १ लाख २० हजार मेट्रिक टन युरिया र डीएपी ९० हजार मेट्रिक टन गरी २ लाख १० हजार मेट्रिक टन खरिद गर्ने सम्झौता भएको थियो ।

यसैगरी २०२५÷०२६ का लागि युरिया १ लाख २० हजार र डीएपी ९० हजार मेट्रिक टन गरी २ लाख १० हजार रासायनिक मल खरिदका लागि सम्झौता भएको थियो छ ।

प्रतिक्रिया दिनुहोस्