शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश



काठमाडौं : सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पोखरेल पुगेकी थिइन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् ।

तर पाटनले जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जी रोक्न अस्वीकार गरेपछि उनी सर्वोच्च गएकी हुन् ।सर्वोच्चले भने तत्काल पक्राउ नगर्न आदेश दिँदै भदौ १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्