चौबीस घण्टामा यमनमा १ सय ५० जनाको मृत्यु



यमन : यमनको प्रमुख सहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । 

 

युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ । 

 

साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोहीविरुद्ध गरेको कारबाहीमा यो हताहती भएको हो । 

 

होडेडा सहरमा रातभर भएको लडाईंमा १ सय १० जना विद्रोही लडाकू र ३२ जना सैनिकको मृत्यु भएको जनाइएको छ । साउदी अरेबियाआबद्ध संयुक्त सैनिक गठबन्धनले विद्रोहीलाई लक्ष्य गरी कैयौं पटक हवाई आक्रमण गरेको सैनिक स्रोतले पुष्टि गरेको छ । 

 

यमनको बढी जनसङ्ख्या भएको सहर होडेडामा गत नोभेम्बर १ बाट सुरु भएको पछिल्लो लडाईंका कारण करिब ६ सय जनाको मृत्यु भइसकेको छ । 

 

सन् २०१५ देखि यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध हवाई कारबाही गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घले यमनमा जारी गृहयुद्ध विश्वकै सबैभन्दा डरलाग्दो र वीभत्स भन्दै यसबाट गम्भीर मानवीय सङ्कट उत्पन्न भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्