पाथीभरा गोल्डकप : बेलबारीलाई हराउँदै डाँगीहाट सेमिफाइनलमा 



ताप्लेजुङ : डाँगीहाट फुटबल क्लब मोरङ ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै डाँगीहाट अन्तिम चारमा प्रवेश गरेको हो।

डाँगीहाटको जितमा खेलको ३३ औँ मिनेटमा कप्तान विक्रम लिम्बूले गरेको गोल निर्णायक बन्यो। खेलको ‘म्यान अफ दि म्याच’ डाँगीहाटका अरुण लिम्बू घोषित भए। उनले नगद ५ हजार प्राप्त गरे। प्रतियोगितामा सोमबार एलाभेन एरोज सुनसरी र यु.के.एफसी दार्जेलिङ भारतबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता भदौ ६ गते सकिने छ।

लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरी १० टिम सहभागी छन्। प्रतियोगिताको विजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफी प्रदान गरिने छ। उपविजेताले १ लाख ५१ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्