मानवअधिकार मन्त्री शिरिनद्धारा प्रियंकालाई संयुक्त राष्ट्र संघको ‘शान्ति सद्भावना दूत’बाट हटाउन माग



एजेन्सी : देसी गर्लका रुपमा परिचित बलिउड अभिनेत्री प्रियंका चोपडा चर्चित अभिनेत्री त हुन नै उनी संयुक्त राष्ट्र संघको शान्ति सद्भावना दूतसमेत हुन्। तर, यतिबेला उनको शान्ति सद्भावना दूतमाथि प्रश्न चिन्ह खडा भएको छ।

केही दिन अगाडि लस एन्जल्समा आयोजित ब्युटिकोन फेस्टिबलमा पाकिस्तानी महिलाको प्रश्नमाथि दिइएको जवाफलाई लिएर प्रियंकालाई शान्ति सद्भावना दूतबाट हटाउन माग गरिएको हो। उक्त कार्यक्रममा प्रियंकाले दिएको जवाफ विवादस्पद बन्दै गएपछि पाकिस्नाती मानवअधिकार मन्त्री शिरिन मजारीले प्रियंकालाई सद्भावना दूतबाट हटाउन माग गरेका हुन्।

मजारीले प्रियंकाले युद्धोन्माद फैलाएको आरोप लगाउँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘युनिसेफले तुरुन्त प्रियंका चोपडालाई राजदूत पदबाट हटाउनुपर्छ। किनभने उनले भारतीय सेना र खराब मोदी सरकारलाई समर्थन गरेकी छन्।

उनलाई हटाइएन भने यस्तो नियुक्ति एक तमासा बन्न जान्छ। मर्यादित पदमा कस्ता व्यक्ति नियुक्त गरिएको छ भन्नेबारे युनिसेफले यस कुराको ख्याल गर्नुपर्छ।’ पाकिस्तानी मन्त्रीको यो असन्तुष्टि प्रियंकाले एक पाकिस्तानी महिलालाई दिएको जवाफमा हो।

आयशा मलिक नाम गरेकी ती पाकिस्तानी महिलाले पुलवा हमलापछि प्रियंकाले भारतीय वायुसेनाको पक्षमा ट्विट गर्दै पाकिस्तानविरुद्ध परमाणु युद्धको खतरालाई बढाइदिएको आरोप लगाएकी थिइन्। उनले प्रियंकाले यस्तो नगर्नुपर्ने बताएकी थिइन्। प्रियंकालाई सम्बोधन गर्दै आयशाले भनेकी थिइन्, ‘तपाइँ राष्ट्रसंघको शान्तिका लागि सद्भावना दूत हुनुहुन्छ।

तर तपाइँ पाकिस्तानसँग आणविक युद्ध होस् भनेर अभिव्यक्ति दिइरहनु भएको छ। तपाइँ यस्ता कुरामा अल्झिनु हुँदैन। म पाकिस्तानी हुँ, मजस्तै लाखौंले तपाइँको कामलाई साथ दिएको छ।’ जवाफमा प्रियंकाले भनेकी थिइन्,‘पाकिस्तानमा मेरा धेरै साथी छन्, म भारतबाट हो।

युद्ध मलाई पनि मन पर्दैन। तर म देशभक्त मानिस हुँ। यदी मैले कसैको चित्त दुखाएको छु भने मलाई माफ गर्नुहोला। तर मलाई लाग्छ हामी सबैले हिँड्ने मध्यम बाटो हुन्छ, जुन तपाइँको पनि छ। तपाइँले जसरी मलाइँ प्रश्न गर्नु हुँदैछ, हामी यहाँ चिच्याउन आएका होइनौं। प्रेम बाँड्न आएका हौं।’

प्रतिक्रिया दिनुहोस्