चिकित्सकको लापरवाहीले जनकपुर अञ्चल अस्पतालमा १ युवकको मृत्यु



जनकपुरधाम : चिकित्सकको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा एक युवकको ज्यान गएको छ।

शनिबार सामान्य ज्वरो र पेट दुखेपछि उपचारका लागि आएका महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको चिकित्सकको लापरवाहीको कारण आइतबार मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।

भर्ना भएको बेला आकस्मिक कक्षका चिकित्सकले समयमा चेकजाँच तथा उपचार नगरेको र पछि ड्युटीमा रहेका ल्याबका कर्मचारी र डा.आनन्दकुमार झाको लापरवाहीले कुन्दनको ज्यान गएको पीडित परिवारको भनाई छ।

मृतक कुन्दनका भिनाजु आसुतोष झाका अनुसार आइतबार बिहान पौने ५ बजे डा.आनन्दकुमार झाले बिरामीको अवस्था सिकिस्त रहेकोले आईसीयुमा भर्ना गर्नुपर्ने भन्दै बाहिरको निजी अस्पतालमा लान सुझाव दिएका थिए। तर, आफूहरुले जनकपुर अञ्चल अस्पतालमै आईसीयु रहेको  र त्यसमै भर्ना गरिदिन आग्रह गर्दा यहाँ खाली नरहेको भनी भर्ना गर्न नमानेको उनीहरूले बताए।

त्यसपछि बाहिर लान एम्बुलेन्सको खोजी गर्दागर्दै कुन्दनको ज्यान गएको थियो। जनकपुर अञ्चल अस्पतालमा आईसीयुको तीनवटा बेड खाली हुँदाहुँदै डाक्टरले कमीशनको चक्करमा त्यसमा भर्ना नगरेको र आईसीयुकै बहानामा उपचार राम्ररी नगरेकोले कुन्दनको मृत्युु हुन गएको परिवारको आरोप छ। उनले अस्पतालका चिकित्सक र ल्याबका कर्मचारीको चरम लापरवाहीले ज्यान गएको भन्दै घटनाको न्यायीक छानविनसहित दोषीमाथि कारवाहीको माग गरेको छ।

घटनापश्चात अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो। मृतकका आफन्तजनले दोषीमाथि कारवाहीको माग गर्दै नाराजुलुस समेत गरेका थिए। यता उपचारमा संलग्न चिकित्सक डा.आनन्दकुमार झाले सुरुमा बिरामीको अवस्था समान्य भए पनि ल्याबको रिपोर्ट ढिलो आएको कारण बिरामीलाई बचाउन नसकिएको बताए।

उनले भने, ‘ज्वरो र पेट दुखाई भए पनि सुरुमा बिरामीको अवस्था समान्य थियो। तर, रगत र पिसाव परीक्षणको रिपोर्ट ल्याबले ४ घण्टा ढिलो दिएका कारण सुगरले बिरामीको अवस्था गम्भीर हुन गयो र समयमै आईसीयुमा भर्ना नगर्दा बिरामीको मृत्यु भयो।’

यसैबीच अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले बाहिर आएको कुरा अनुसार उपचारमा संलग्न चिकित्सक र ल्याबका कर्मचारीमाथि छानविन गरी लापरवाही गरेको भए कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्