पौडेल पक्षले भन्याे: सभापति देउवाले स्वेच्छाचारी कदम चाले



काठमाडौँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले विधान र प्रक्रिया मिचेर स्वेच्छाचारी ढंगबाट पार्टी सञ्चालन गर्न थालेको आरोप लगाएको छ । 

नेृतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा सोमबार बिहान बसेको पौडेल पक्षीय नेताहरुको बैठकले पार्टी नेतृत्वबाट विधान र प्रक्रिया मिच्ने काम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए। उनीहरुले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउँदा पार्टी विधानको प्रक्रिया विपरीत निर्णय लिएको बताएका छन्।

बैठकमा सहभागि कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति देउवाले क्रमिक रुपमा रुपमा विधान र प्रक्रिया मिच्ने काम गरेको भन्दै उनको स्वच्छाचारी कदमको विरोध गर्ने बताए।

 

गच्छदारलाई कात्र्तिक २० गते उपसभापति बनाउने निर्णय अघि वरिष्ठ नेता पौडेल पक्षले विधान अनुसार प्रक्रिया मिलाएर निर्णय लिन बारम्बार आग्रह गरेको थियो। त्यस्तो आग्रहको वेवास्ता गर्दै सभापति देउवाले राजनीतिक निर्णय भन्दै गच्छदारलाई उपसभापति बनाई छाडे।

 

‘गच्छदारलाई उपसभापति बनाउने बिषयमा कुनै विवाद थिएन। हामीपनि चाडै गर्नुपर्छ भन्ने पक्षमा थियौँ’ केसीले थपे,‘एउटा कार्यदल बनाएर त्यसको प्रतिवेदनको आधारमा विधानको प्रक्रिया समेत मिलाएर गर्न सकिन्थ्यो। तर बलजफ्ती विधि र प्रक्रिया विपरीत निर्णय लिईयो।’

 

उनका अनुसार यस्तो निर्णय सभापति देउवाबाट जानबुझीकन गरिएको थियो। ‘पहिलो त मैले गरेपछि जेपनि हुन्छ भन्ने सन्देश हो,’ केसीले थपे,‘यसरी निर्णय लिदा गच्छदारको विरोध हुन्छ। त्यसको जश लिएर १४ औँ महाधिवेशनमा आफूले फाईदा लिन सकिन्छ भन्ने हो।’

 

पौडेल पक्षको भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री संशाक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला र सुजाता कोइरालाको सहभागिता रहेको थियो।


याे पनि पढ्नुहाेस्

कांग्रेस सभापति देउवाविरुद्ध एक हुन सुजाता निवासमा लन्च

प्रतिक्रिया दिनुहोस्