बहसमा समाजवादी केन्द्र : वाम ध्रुवीकरण कि चुनावी रन्को ?



काठमाडौं । नेकपा एमालेबाहेकका वामपन्थी दलहरू मोर्चाको रूपमा ‘समाजवादी केन्द्र’ तयार गर्ने कसरतमा छन् । सङ्घ र प्रदेश निर्वाचनअघि नै मोर्चा तयार गर्ने प्रयास भइरहेको हो।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमसहितका नेताहरू समाजवादी केन्द्र बनाउने दौडधुपमा छन् । ३ पार्टीका यी नेतृत्वहरूकै पहलमा समाजवादी केन्द्र निर्माणबारे पार्टी–पार्टीबीच सघन रूपमा छलफल भइरहेको हो।

माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देवप्रसाद गुरुङ तथा एकीकृत समाजवादीबाट महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलसँगै गौतम नेतृत्वको पार्टीबाट उनी आफैँ सक्रिय छन् । उनीहरूबीच पटकपटक छलफल भइरहेको छ।

मङ्गलबार भने माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट नेता नेपाल र सम्मानित नेता झलनाथ खनालसँगै नेता गौतम छलफलमा जुटे । सो क्रममा पनि समाजवादी केन्द्रबारे सैद्धान्तिक सहमतिको आधारबारे छलफल भएको एक नेताले जानकारी दिए ।

स्थानीय तह निर्वाचनलगत्तै एमालेबाहेकका वामपन्थी पार्टीका नेताहरू समाजवादी केन्द्र मोर्चाको रूपमा स्थापना गर्ने बहसमा सहभागी भएका हुन्।केन्द्र निर्माणको अन्तिम लक्ष्य वामपन्थी पार्टीहरूबीच बृहत् धु्रवीकरण रहेको माओवादी नेता हरिबोल गजुरेलले बताए । तर, पहिलो लक्ष्य भने आगामी सङ्घ र प्रदेश तहको निर्वाचनमा कार्यगत, तालमेल वा एकता भएको उनी बताउँछन् ।

उनका अनुसार समाजवादी केन्द्रमा नेकपा एमाले भने अट्दैन । नअट्नुको कारण खुलाउँदै उनले द नेपालटपसँग भने, ‘एमाले त पश्चगामी भइसक्यो । वामपन्थी त अग्रगामी हुन्छ नि विचारमा । त्यही भएर एमाले अट्दैन बरु डा. बाबुराम भट्टराई अट्न सक्ने हुन्छ ।’

वाम ध्रुवीकरणमा केन्द्रको भूमिका रहने अपेक्षा वामपन्थी नेताहरू दाहाल, नेपाल र गौतमको छ । त्यही भएर निर्वाचनअघि नै केन्द्र गठन गर्ने गरीको प्रगति भइरहेको दाबी यी नेताहरूको छ। मङ्गलबार एकीकृत समाजवादीका महासचिव भुसालले जारी गरेको विज्ञप्तिको चौैथो नम्बरमा ‘वाम एकताको पहल गर्ने’ उल्लेख छ। तर, वर्तमान गठबन्धन भने कायमै रहने भनिएको छ, जुन पार्टीको ३२औँ सचिवालय बैठकपछि सार्वजनिक भएको निर्णय हो।

निर्णयमै उल्लेख भएअनुसारको वाम एकताका लागि प्रारम्भमा समाजवादी केन्द्र निर्माण गर्न एकीकृत समाजवादी पनि जुटेको हो। पार्टी उपाध्यक्ष जयन्ती राईले वामपन्थी दलहरूलाई आगामी निर्वाचनमा कार्यगत एकता गर्दै तालमेलको आधार खडा गर्ने माहोल बनाउन केन्द्रको आवश्यक भएको बताइन् ।

‘नेताहरूको ध्यान वाम ध्रुवीकरणमै केन्द्रित छ। त्यसमा कसरी जोडिने भन्दा अहिले मोर्चाको रूपमा समाजवादी केन्द्र बनाउने र त्यसमार्फत वाम धु्रवीकरणमा जाने भन्ने हो’, उपाध्यक्ष राईले बताइन् । गठन हुने क्रममा भनिएको समाजवादी केन्द्रमा भने एमाले अट्न सक्ने उनको भनाइ छ। तर, त्यसका लागि २ पटकसम्म संसद् विघटन गरेको घटनाप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर आत्मालोचना गर्नुपर्नेमा उनको जोड छ।

समाजवादी केन्द्रको पक्षधर नेता एमालेका घनश्याम भुसाल पनि हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता डा. बाबुराम भट्टराईले त पहिलेदेखि नै यसबारे बहस चलाएका थिए । उनी हालै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबाट कारबाही बेहोरेका नेता पनि हुन्। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निकट एक नेताका अनुसार त भट्टराईलाई पनि समावेश गरेर समाजवादी केन्द्र निर्माण गर्दै २ तहको निर्वाचनअघि नै सम्भव भए एकता प्रक्रियामा जाने गरी नेताहरूबीच छलफल भइरहेको छ।

हालै कांग्रेस केन्द्रीय समिति बैठकले एकल बहुमत प्राप्त गर्ने लक्ष्य राखेर आगामी निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्ने निर्णय गरेपछि समाजवादी केन्द्र निर्माणको बहस तातेको हो । कांग्रेस बैठकमा सङ्घको १०० सिट लिएर बाँकी ६५ सिट गठबन्धनका अन्य दललाई दिनेबारे छलफल भएको थियो । सोहीअनुसार एकल बहुमतप्राप्तिको लक्ष्य राखेर तालमेल गर्ने निर्णय भएको हो । यो निर्णयपछि माओवादी र एकीकृत समाजवादी झस्किएका छन् । र, कांग्रेससँग तालमेल गर्दा बढी सिटमा ‘बार्गेनिङ’ गर्न समाजवादी केन्द्र निर्माणको बहस सतहमा ल्याएको हुन सक्ने विश्लेषण हुँदै आएको छ ।

समाजवादी केन्द्रमा एमाले सहभागी हुँदैन : उपाध्यक्ष ज्ञवाली

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले समाजवादी केन्द्रमा एमाले सहभागी नहुने स्पष्ट पारेका छन् । उनले समाजवादी केन्द्रलाई ‘बार्गेनिङ’ गर्ने संयन्त्रको रूपमा ब्याख्या गरे ।

‘यो समाजवादी केन्द्र २ उद्देश्य राखेर बनाउन लागेको देखिएको छ । पहिलो, समाजवादी केन्द्रको नाममा एमालेलाई हराउने र कांग्रेससँग चाहिँ बढी सिटका लागि बार्गेनिङ गर्ने । यस्तोमा एमाले रहँदैन’, ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस्