
काठमाडौं : पूर्वमन्त्री केशव स्थापितको घरमा भोजन गरेर फर्कने क्रममा प्रदेश सभाका दुई सांसद चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ ।
प्रदेश सांसद गणेश दुलाल र प्रकाश श्रेष्ठ केही दिनअघिमात्र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका पूर्व भौतिक योजना मन्त्री केशब स्थापितको बौद्ध महाँङ्लस्थित घरमा खाना खान पुगेका थिए ।
खाना खाएर बाहिर निस्किएपछि उनीहरु चढेको गाडीमा मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिले ढुङ्गा प्रहार गरेका हुन् । घटना सोमबार बिहान ११ बजेर ४५ मिनेट जाँदा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थापितको घरमा गएका प्रदेश सांसद दुलाल र श्रेष्ठ चढेका बा १९ प ४९८ नम्बरको गाडीमा ढुङ्गा प्रहार भएको हो । उनीहरुको चढेको गाडीको अगाडिको सिसामा क्षति पुगेको छ ।
महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेस थापा क्षेत्रीले घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको बताए ।
महानगरीय प्रहरीका प्रवक्ता एसएसपी पुजा सिंहका अनुसार घटनामा संलग्न खोटाङ घरभई स्थापितकै छिमेकमा बस्ने पासाङ दोर्जे शेर्पा पक्राउ परेका छन् । उनले सांसद चढेको गाडीले बाटो च्यापेर आएपछि ढुङ्गा प्रहार गरेको प्रारम्भिक बयान दिएका छन् ।