तिब्बतबाट बगेर आउने भोटेकोसीले रसुवाको बेलिब्रिज बगायो



काठमाडौं : अविरल वर्षापछि भोटेकोसीमा आएको बाढीले आइतबार रसुवामा बेलिब्रिज बगाएको छ । बाढीले टिमुरे भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।

तिब्बतबाट बगेर आउने भोटेकोसीको सतह एक्कासि ५ मिटरसम्म बढेर आएको कारण बाढी आएको रसुवाकम प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनाकारी दिए । बाढीका कारण बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेको उनले बताए । तर, रातिनै प्रशासनको पहलमा नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएका कारण थप क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकार भण्डारीले बताए ।  

बाढीले पुल बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको र  अब दुवैतर्फ आवतजावत गर्न टिमुरेभन्दा तल रहेको तातोपानी पुल प्रयोग गर्नुपर्ने भण्डारीले बताए ।  

 

प्रतिक्रिया दिनुहोस्