चितवनको चौबीसकोठीदेखी मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा



चितवन : पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन र नारावाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखी मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।  

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अगाडि लिएको भिडियो सार्वजनिक भएलगत्तै पक्राउ परेका लामिछानेको पक्षमा नारावाजी र विरोध प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो । 

योसँगै जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपेन्द्र शाहले प्रदर्शन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रदर्शनमा रोक लगाएको जानकारी दिए । निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।

गत साउन २० गते चितवनको नारायणगढ बसपार्कमा रहेको कंगारु होटेलमा पत्रकार पुडासैनी झण्डिएको अवस्थामा फेला परेका थिए । 

यसबारे पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ । पत्रकार लामिछानेसहितका तीनमाथि जिल्ला प्रहरी कार्यालय चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको हो । 

यता पत्रकार पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरी कार्यालयमा पुगेको छ । तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन । हामी सबै प्रमाण जुटाउँदै छौं । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ’ एसपी मल्लले बताए । 

पुडासैनीको शव साउन २२ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पोस्मार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर परिपोर्ट तयार पारेको हो । पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याउब परीक्षण पनि भइससकेको प्रहरीले जनाएको छ । 

यता पत्रकार लामिछानेसहित तीनै जनालाई भोलि फेरी अदालतमा उपस्थिति गराउने तयारी भएको छ । 

गत साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर तीनै जनामाथि अनुसन्धान भइरहेको थियो । तर, अनुसन्धान नसकिएकाले प्रहरीले भोलि (मंगलबार) पुनः म्याद थपका लागि लामिछानेसहित तीनैजनालाई अदालतमा उपस्थिति गराउने तयारी भएको स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्