जनकपुर पुगेर प्रचण्डले भने, ‘पाँच वर्षसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन’



जनकपुरधाम : संघीय सरकारका सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा नेतृत्वको वर्तमान सरकारले विकासको कामलाई प्राथमिकता दिएकोले ५ वर्षसम्म टिक्ने दाबी गरेका छन् । 

धनुषाको बरमझीयामा शहिद रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड जनकपुर आएका हुन् । जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘विगतमा सरकारले आवश्यक कानुन निर्माणतर्फ बढि ध्यान दिएको कारणले अब विकासको कार्यहरुमा ध्यान केन्द्रीत गरेकोले यो सरकारलाई कसैले पनि ५ वर्षसम्म हल्लाउन सक्दैन ।’ 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आकांक्षा अनुसार सरकार अघि बढेको दाबी गर्दै अब संवैधानकि र कानुनी आधार तयार भइसकेकोले विकासले पनि विस्तारै गति लिने विश्वास व्यक्त गरे । 

त्यस्तै प्रचण्डसँगै जनकपुर पुगेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । वरियता क्रममा झलनाथ खनाल पार्टीको दोश्रो वरिष्ठ नेता हुन् । तर, पार्टी एकताले उहाँलाई नसमेटेर अपमान गरेको उनले बताए ।

वरिष्ठ नेता नेपालले पार्टी एकतापछि गठन भएको विभिन्न विभागको निर्माणमा पार्टीका वरिष्ठ नेताहरुलाई अपमानति गर्ने प्रयास गरेको आरोप लगाउंदै पार्टी विधान र सरकार दुवै ठिक्क ढंगबाट चल्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्