भित्रियो डेंगु सार्ने लामखुट्टे : उच्च जोखिममा बानेश्वर, तीनकुने र ताहचल



काठमाडौं : तराईका विभिन्न क्षेत्रमा डेंगु बढेसँगै काठमाडौं उपत्यकाभित्र पनि डेंगु रोग सार्ने लामखुट्टे देखा परेको छ।

यतिबेला काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बिगबिगी छ। यो लामखुट्टेले दिउँसो टोकेपछि मानिसमा डेंगुको संक्रमण हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखामा डेंगु रोग हेर्ने सम्पर्क व्यक्ति उत्तमराज प्याकुरेलका अनुसार उपत्यका डेंगुको उच्च जोखिममा रहेको छ र पछिल्ला ३ महिनामा उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएका छन्।

उपत्यकाभर नै डेंगु सार्ने लामखुट्टे भए पनि बानेश्वर, तीनकुने र ताहचल क्षेत्र उच्च जोखिममा रहेको प्याकुरेलले बताए।

डेंगु लागेका बिरामीलाई खुवाउने बेग्लै औषधी हुँदैन। अस्पताल गएर नर्सिङ केयरमा बस्नु पर्छ ।

डेंगु नियन्त्रणका लागि ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभाग, प्रदेश, काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहबीच अब कसरी अघि बढ्ने भन्ने छलफल भएको छ,’ प्याकुरेलले भने, ‘व्यापक रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भन्ने छ।’ 

डेंगु लागेपछि ज्वरो आउने, शरीरमा दादुराजस्ता स-साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्ने, रूघाखोकी लाग्ने, खान मन नलाग्ने जस्ता लक्षण देखा पर्छन्।

डेंगु लागेपछि समयमै स्वास्थ्य संस्था नगए बिरामीको मृत्युसमेत हुन सक्छ। यस्तै उपत्यकाबाहिर मकवानपुर, कास्की, सुनसरी, उदयपुरमा डेंगु देखिएको छ।

प्रतिक्रिया दिनुहोस्