हिन्दुलाई गाली गर्दै क्रिष्चियन धर्मको प्रचार, पाँच जना पक्राउ



बर्दिया : बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

धर्मको प्रचारप्रसार गर्दै हिँडेको सूचनाका आधारमा सोमवार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुलाई कार्यालयमा झिकाई जाँचबुझ गर्दा धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाइएको हो । 

प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए । 

त्यसक्रममा पासपोर्ट नम्बर एन ७००७३७११ भएको बताउने अष्ट्रेलियन महिला क्याटिया ग्रान, नेपालगञ्ज निवासी श्वेता मानन्धर, श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका–६ बर्दियाका दलबहादुर तिरुवा पक्राउ परेका हुन् ।

भिजिट भिषामा नेपाल छिरेकी विदेशी महिलाले धर्म प्रचारमा लागेको पाइएकाले अनुसन्धानपछि उनलाई अध्यागमन विभाग काठमाडौँ पठाइएको एसपी मैनालीले जानकारी दिए । 

‘अनुसन्धानका क्रममा विदेशीसहित अन्य चारजनाले घरघरमा गई धर्म प्रचार र विभिन्न प्रलोभनमा धर्म परिवर्तन गरेको पाइएकाले मुलुकी अपराधसंहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएका छौं’, मैनलीले भने । कानुन विपरित जबरजस्ती धर्म परिवर्तन गराउने कसैलाई पनि नछाडिने उनले बताए । 

जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुबाट सोधपुछ र चेकजाँचका क्रममा बाइबल, डायरी, पर्चा पम्प्लेट लगायत भिडियो फेला परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले बताए । 

‘उनीहरु धर्म प्रचारकै लागि घरदैलोमा हिँडेको पुष्टि भएकाले प्रहरीको जिम्मा लगाएका हौं’, शाहीले भने, ‘समूह बनाएर धर्म प्रचारका लागि घरदैलोमा पुगेको सूचना प्राप्त भएपछि अनुसन्धान थालेका हौं ।’

प्रतिक्रिया दिनुहोस्