रवि लामिछाने समर्थकको प्रदर्शनमा सहभागि नहुन नेकपाको निर्देशन



चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चितवनले रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा नजान आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायलयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनविरोधी भएको भन्दै सो निर्देशन दिएको हो ।

पार्टीले आज प्रेषित गरेको विज्ञप्तिमा नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको पार्टीले उल्लेख गरेको छ ।

यसै घटनालाई लिएर पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको विज्ञप्तिमा उल्लेख छ । पार्टीले यस्तो कार्य स्वीकार्य नहुने पनि जनाएको छ ।

नेकपा चितवनले पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन हामी जोडदार माग पनि गरेको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनुसन्धानप्रति आशंका लागेमा वा न्यायालयको निर्णयउपर चित्त नबुझेमा पुनरावेदन गर्न संविधानले स्पष्ट व्यवस्था गरेको पनि पार्टीले जनाएको छ ।

रवि लामिछाने समर्थकको प्रदर्शनमा सहभागि नहुन नेकपाको निर्देशन

प्रतिक्रिया दिनुहोस्