‘समाजवादी केन्द्र कांग्रेससँग ‘बार्गेनिङ’ संयन्त्र’



काठमाडौं। नेकपा एमालेबाहेकका वामपन्थी नेताहरू सङ्घ र प्रदेश चुनावअघि नै समाजवादी केन्द्र निर्माण गर्ने अभियानमा छन्। उनीहरूका अनुसार आगामी चुनावमा कार्यगत एकता, तालमेल वा पार्टी एकता गर्न संयोजनकारी मोर्चाको रूपमा समाजवादी केन्द्र निर्माण गर्न आवश्यक परेको हो ।

केन्द्र निर्माणका लागि दौडधुमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)बाट निकालिएका नेता डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम छन् । तर, माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने नेपाली कांग्रेससँगको गठबन्धन कायम राख्ने पनि बताएका छन् ।

यस्तो कदमबाट एकातिर कांग्रेस झस्किँदा नेकपा एमालेले चाहिँ समाजवादी केन्द्र निर्माण प्रयासलाई कसरी लिएको छ ? त्यहाँ एमाले रहन्छ कि रहँदैन? यदि एक्लै चुनावमा गए एमालेले कति सिट सङ्घमा जित्छ ? माओवादी र एकीकृत समाजवादीसँग एकता कस्तो अवस्थामा हुन्छ ? मूलतः यिनै प्रश्नहरूको जबाफ द नेपालटपकर्मी जङ्ग तामाङले एमाले उपाध्यक्ष युवराज ज्ञवालीबाट लिएका छन् ।

समाजवादी केन्द्र निर्माणको बहस सतहमा छ । नेकपा एमाले त्यसमा अट्छ ?

अहिले समाजवादी केन्द्र भनेर जो–जसले प्रयास गरिरहनुभएको छ, उहाँहरू मिलेर नेपाली कांग्रेसबाट धेरैभन्दा धेरै सिट कसरी प्राप्त गर्ने, कांग्रेसलाई कसरी जिताउने ? कांग्रेससित मिल्दा कसरी केही सिट आर्जन गर्ने ? समग्रमा, तालमेलमा कांग्रेससित ‘बार्गेनिङ’ गर्न समाजवादी केन्द्र गठन गर्ने प्रयास गरिरहनुभएको छ ।

उहाँहरूको एकातिर नेपाली कांग्रेसलाई चुनावमा जिताउन भूमिका रहन्छ तर थोरै भए पनि चुनावबाट सिट उहाँहरूले प्राप्त गर्ने हो । तर, मूलभूत रूपमा कांग्रेससित मिलेर नेकपा एमालेलाई कमजोर बनाउने विषयसँग समाजवादी केन्द्र निर्माणको अन्तर्य सम्बन्धित छ ।

५ दलीय गठबन्धनलाई निरन्तरता दिने र वामपन्थी दलहरूबीच चुनावमा कार्यगत एकता वा तालमेल र सम्भव भएसम्म एकताको लक्ष्य राखेर समाजवादी केन्द्र निर्माणको विषय उठान भएको छ । तपाईंले चाहिँ ‘बार्गेनिङ’को विषय उठान गर्नुभयो, कसरी ?

होइन, ५ दलीय गठबन्धनलाई कायम राख्ने र राख्दा स्वाभाविक रूपमा नेपाली कांग्रेसलाई समेत उहाँहरूले भोट हाल्नुपर्ने हुन्छ । जिताउनुपर्ने हुन्छ । र, त्यस्तो अवस्थामा उहाँहरूले नेपाली कांग्रेसबाट केही सिट प्राप्त गर्ने, त्यो उद्देश्यबाट निर्देशित छ समाजवादी केन्द्र । मूलभूत रूपमा चाहिँ कांग्रेसले जित्ने हो, उहाँहरूले पनि कांग्रेसलाई सहयोग गर्ने हो ।

उसो भए एमाले समाजवादी केन्द्र निर्माणको अभियानमा सरिक हुँदैन ? 

उहाँहरूको ५ दलीय गठबन्धन कायम रहेसम्म एमाले संलग्न रहने भन्ने प्रश्नै रहँदैन ।

गठबन्धनबाट अलग भयो भने ?

कांग्रेस नेतृत्वको गठबन्धनबाट अलग भएको अवस्थामा त्यसपछि उहाँहरूसित चुनावका बारे कसरी जाने ? वार्ता हुन सक्छ । अथवा एकता पनि हुन सक्छ । तर, कांग्रेससितको गठबन्धन टुट्नुपर्‍यो । कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने हो ।

मुख्य शक्ति भए पनि माओवादी त जसलाई समर्थन गर्‍यो, उसलाई बलियो बनाउने, जसलाई समर्थन गर्दैन, उसलाई कमजोर बनाउने शक्तिको रूपमा स्थापित छ नि ?
गठबन्धन सकभर आफूलाई बलियो बनाउने उद्देश्यले नै बनाउने हो चुनावमा । त्यो जसले पनि गर्ने हो । एमालेले गर्छ । कांग्रेसले पनि गर्ने त्यही हो । माओवादीले पनि गर्छ । त्यसो भएको हुनाले जहाँसम्म वामपन्थी गठबन्धन या समाजवादी केन्द्र बनाउने प्रयासबारे प्रश्न गर्नुभएको छ, अहिले त कांग्रेससमेतको गठबन्धन छ ।

अन्तिम उद्देश्य त वामपन्थी दलहरूको एकतासम्म जाने भन्ने नै छैन र ?

उहाँहरूको वामपन्थी मात्र मिलेर चुनाव लड्ने भन्ने छैन । ‘५ दलीय गठबन्धनलाई कायम राख्दै…’ भन्ने जो छ नि, यो बडो खतरनाक कुरा हो। अनि, गठबन्धनलाई कायम राख्दै वामपन्थी वा समाजवादी छुट्टै मोर्चा बनाउने भन्ने कुरासँग एमाले सहमत हुन सक्दैन ।

एमालेको पहिलो शर्त नै यो हो कि कांग्रेससितको गठबन्धनबाट उहाँहरू अलग हुनुपर्‍यो । लडाइँ भनेको त कांग्रेस र एमालेबीच जित/हारको हो। यस्तो लडाइँमा फेरि एकातिर वामपन्थी भन्ने अनि अर्कातिर कांग्रेससित गठबन्धन गर्ने ? स्थानीय तह चुनावमा जुन ५ दलीय गठबन्धन भयो, त्यसको फाइदा कांग्रेसलाई भयो ।

तपाईंहरूले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई होच्याएको होच्याएकै गरेर कांग्रेससँग मिल्न बाध्य बनाएको जस्तो लाग्दैन कहिलेकाहीँ ?

माओवादीसँग त विविध कारणले अन्तर्विरोध चर्केर गयो । त्यसको पछाडि त अनेक कारण छन् । समाजवादीसित त पार्टी विभाजन गरेकोमा धेरै ठूलो आपत्ति र विरोध छ । त्यस्तै, माओवादीसित एमालेको धेरै कुरामा भिन्नता छ। ऊ अलग पार्टी हो, एमाले अलग पार्टी हो । माओवादीले कुनै पनि तरिकाले एमाले कमजोर बनाएर आफू माथि जान चाहन्छ । समाजवादीको मुख्य उद्देश्य भनेको नेकपा एमालेलाई कमजोर बनाउनु हो ।

अनि, चुनावअघि त ५० देखि ६० प्रतिशत जित हुन्छ एमालेको भन्नुहुन्थ्यो, ३२ प्रतिशत पनि पुगेन त ?

प्रतिशतभन्दा पनि यो राजनीतिक लडाइँ हो क्या ! यो राजनीतिक लडाइँ समाजवादी र पुँजिवादीबीचको हो मुख्य रूपमा । एमाले समाजवादी पार्टी हो। वामपन्थी, साम्यवादी र कम्युनिस्ट पार्टी हो– हाम्रा घोषणापत्र, दस्ताबेज, महाधिवेशनका निष्कर्ष र निर्णयहरूका आधारमा । माओवादीले त्यही भन्छ । समाजवादीले पनि त्यही भन्छ । तर, व्यवहारमा गर्छ के भने पुँजिवादी पार्टीलाई बलियो बनाउने काम गर्छ ।

प्रतिगामी शक्तिको विरोधी र संविधानको रक्षा गर्ने शक्ति कांग्रेससँग गठबन्धन गर्नुपर्‍यो भन्ने प्रष्टीकरण छ नि ?
अहिले त कहाँ प्रतिगमन छ ? अहिले त स्थानीय तहको चुनाव भइसक्यो ।

तर, स्थानीय तहमा एमालेसँग तालमेल नहुनुको कारण त्यही भन्ने आयो …
… एकछिन, म भन्दै छु । अहिले कहाँ प्रतिगमन छ ? अहिले त स्थानीय तह चुनाव भयो । संसद् सुचारु भइरहेको छ । अब प्रदेश र केन्द्रको चुनाव गइरहेको छ । भनेपछि प्रतिगमन कहाँ छ ? बरु उहाँहरूले प्रतिगमन भनेर नेकपा एमालेलाई भन्ने ? उहाँहरू चाहिँ दक्षिणपन्थी र पुँजिवादी शक्तिसँग मिलेर उसै (कांग्रेस)लाई बलियो बनाउने काम गर्नुभएको छ ।

तपाईंहरूलाई गठबन्धन हुँदा त कांग्रेस ठूलो दल बन्दै छ भन्ने लागेको थिएन ?
अहिलेको स्थानीय तह चुनावमा हाम्रो ३४ प्रतिशत मत छ ।

जनताबाट अभिव्यक्त मत त्यति तर प्राविधिक रूपमा त हार्‍यो नि एमाले !

कहिलेकाहीँ के हुन्छ भने जनमत धेरै खसेर पनि सिट कम प्राप्त हुन्छ । अहिले भएको त्यही हो । मत त हाम्रो बढी छ तर सिट कम । नेपाली कांग्रेसको ३३ प्रतिशत छ ।

कारक के रह्यो ? अन्तर्घात कि पार्टी विभाजन ?
यसमा धेरै कारण छन् । एउटा कारण त ५ दल एकातिर भए । नेपाली कांग्रेससहित ५ दल एकातिर भएपछि स्वाभाविक हो नि ! एमाले र कांग्रेसबीच लामो समयदेखिको प्रतिस्पर्धा हो । २०४८ सालदेखि २०६४ सालबाहेक त एमाले र कांग्रेसको प्रतिस्पर्धा हुँदै आएको छ । कहिले कांग्रेस त कहिले एमाले पहिलो हुने गरेको छ । अहिले पनि एमाले र कांग्रेस नै हो निकटतम प्रतिद्वन्द्वी । मतको हिसाबको एमाले अगाडि छ, सिटको हिसाबले कांग्रेस अगाडि छ ।

राप्रपा नेपाल, परिवार दल, जनमत पार्टीदेखि हृदयेश त्रिपाठी नेतृत्वको पार्टीसँगसम्म तालमेल गर्नुभएको होइन र ?

त्यसो त एमाले र कांग्रेसबीच गठबन्धन, एमाले र माओवादीबीचको गठबन्धन पनि भएको छ। रुकुममा एमाले र कांग्रेस एक भयो माओवादीविरुद्ध। यस्ता खालका पनि भएका छन् । तर, केन्द्रीयस्तरमा कुनै पार्टीसँग गठबन्धन गरेनौँ ।

अब, सङ्घ र प्रदेश चुनावमा एमाले एक्लै लड्छ कि गठबन्धनका लागि दलहरू खोज्छ ?
यतिबेला वामपन्थीहरूसित गठबन्धन कायम गरेर जाने अवस्था छैन, किनकि, जसलाई वामपन्थी भनेर भन्दै छौँ र जोसित वामपन्थी गठबन्धन गर्नुपर्ने हो, ती वामपन्थीहरू कांग्रेससँग मिल्न पुगेका छन् । सबैभन्दा ठूलो समस्या यहाँ छ क्या !

तपाईंको शब्दमा ‘दक्षिणपन्थी’ शक्तिसँग तालमेल ?
दक्षिणपन्थी मात्र किन ? पुँजिवादी शक्ति पनि हो कांग्रेस । कांग्रेस त घोषित रूपमा पुँजिवादी शक्ति हो ।

त्यसो भए माओवादी र एकीकृत समाजवादीप्रति एमालेको आधिकारिक धारणा के हो ?

दक्षिणपन्थी दल कांग्रेसको सहयोगी हो । दक्षिणपन्थी विचारधारालाई बलियो बनाउन लागिरहनुभएको छ। त्यो क्रान्तिकारिताको नाउँ मात्र हो। पुँजिवादी शक्तिलाई बलियो बनाउनेगरी उहाँहरू हिँडिरहनुभएको छ । अहिलेको स्थानीय तहको चुनाव त्यसको प्रत्यक्ष प्रमाण हो ।

तपाईंको भनाइको अर्थ अहिलेको अवस्थामा माओवादी र एकीकृत समाजवादीसँग मिलन हुँदैन ?
कुनबेला हुन सक्छ भने, जब उहाँहरूले कांग्रेससितको गठबन्धन तोड्नुहुन्छ । गठबन्धन तोडिसकेपछि बल्ल वामपन्थी एकताको कुरा सुरु हुन्छ।

अबका चुनावमा पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने होला, होइन त ?

स्वाभाविक रूपमा पार्टी अध्यक्ष संसदीय दलको नेता भएकाले ‘अन्डरस्टुड’ कुरा कमरेड केपी ओली नै एमालेको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हो। तर, कुनै व्यक्ति विशेषलाई प्रधानमन्त्री फलानो हुन्छ र हुँदैन भन्न सक्दिनँ। चुनाव आउने बेलामा व्यक्तिको नाम लिएर जाने कि नजाने टुङ्गो लाग्छ।

जनतालाई एमालेबाट को प्रधानमन्त्री बन्छ भनेर थाहा नदिई जाने चुनावमा ?

जनता एमालेबाट प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा छन् र एमालेबाट जो व्यक्ति उपयुक्त हुन्छ, त्यही व्यक्ति प्रधानमन्त्री हुन्छ। अर्थात् एमालेको संसदीय दलले जसलाई दलको नेता चुन्छ, त्यही प्रधानमन्त्री बन्छ।

प्रतिक्रिया दिनुहोस्