नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्छ : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्ने बताएका छन्। एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरूको ५६ औं सम्मेलनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताए। ‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं। यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं’, प्रधानमन्त्री ओलीले भने,‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरू संशोधन गर्छौं।’

ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताए। विश्वकै आकर्षक मध्येको  एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गरे। ‘यो राइनो हैन गैंडा हो गैंडा’, ओलीले भने,‘यसको मौलिक नाम नबिगारौं। यो राइनो होइन।’

नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमाल मध्ये धेरै वटा नेपालमै रहेको उनको भनाई थियो। नेपाललाई विश्व मै सुन्दर देश भनिने गरकोे तर, यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘नेपाल सुन्दर मात्र होइन, प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो’, उनले भने,‘यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तीव्र गतिमा अघि बढाउनु पर्दछ।’ प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न वर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनु पर्र्नेे प्रधानमन्त्री ओलीको धारणा छ।

‘हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं। यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन्’, प्रधानमन्त्री ओलीले भने। 

प्रतिक्रिया दिनुहोस्